महिला सशक्तिकरणका लागि आर्थिक विकास आवश्यक

महिलाका लागि सरलीकृत कर्जा

भदौ २६, सुर्खेत ।
सुर्खेतका महिला उद्यमीले सशक्तिकरण गर्न सरलीकृत कर्जाका साथै प्रभावकारी नीति आवश्यक रहेको बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा बुधबार सम्पन्न नेपाल घरेलु तथा साना उद्योग महासंघ अन्तर्गतको जिल्ला महिला उद्यमी समितिको छैठौं वार्षिक साधारण सभा तथा पाँचौं महिला उद्यमी सम्मेलनका सहभागीहरुले महिला उद्यमीका लागि ‘महिला उद्यमशील विकास कोष’ बनाईएको भएपनि लघु, घरेलु तथा साना उद्यमी महिलाले लाभ लिन नपाएको गुनासो गरेका छन् ।

सरकारले महिला उद्यमीका लागि बनाएको उक्त कोषको रकम सबै स्थानमा पुग्ने बनाउन महिला उद्यमी समिति कर्णाली प्रदेश सचिव गोमा वलीले आग्रह गरिन् । उनले कोषको नीति अनुसार आवश्यक मापदण्ड पूरा गरेपनि बैंकबाट उक्त रकम लिन महिला उद्यमीलाई सकस भईरहेको गुनासो पोखिन् । महिला उद्यमशीलता विकासका लागि सरकारले फराकिलो बनाउँदै गाउँका कुना—कुनासम्म पुग्ने गरि योजना बनाउनु पर्ने उनको भनाइ थियो ।


सम्मेलनमा नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर विसीले महिला सशक्तिकरणका लागि आर्थिक विकास आवश्यक रहेको औल्याए । उनले महिला हरेक स्तरबाट सक्षम नभएसम्म देशको प्रगति हुनै नसक्ने ठोकुवा गरे । बैंक तथा वित्तीय संस्थाले महिला व्यवसायीलाई चार प्रतिशतमा कर्जा दिए महिला उद्यमी सशक्तिकरणका लागि सहज हुने उनको भनाइ थियो । त्यस्तै नेपाल घरेलु तथा साना उद्योग महासंघ सुर्खेत जिल्ला अध्यक्ष सुमननाथ योगीले महिलाको हितका लागि आर्थिक लगानीको कमीले लघु घरेलु तथा साना उद्यमी महिला पछाडी परेको बताए । उनले महिलाको आर्थिक विकाससँगै सशक्तिकरणका लागि सरकारले योजनाबद्ध तरिकाले सोच्न आवश्यक रहेको औल्याए । महिला उद्यमी समिति सुर्खेतका अध्यक्ष रुपाकुमारी भण्डारीले जिम्मेवारी वा पदमात्र दिदैमा महिला सशक्तिकरण हुन नसक्ने भएकाले महिलाहरुको आर्थिक पहुँच बृद्धि भएमा मात्र सःशक्तिकरण हुने धारणा राखिन् । उनले आर्थिक विकासका कार्यक्रम सबैले प्रत्याभूति गर्न पाउने गरि सरकारले शहरदेखि गाउँसम्म पु¥याउने नीति ल्याउनु पर्नेमा जोड दिइन् । ‘महिला उद्यमीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहको व्यावसायिक तालिम आवश्यक छ,’ उनले भनिन्, ‘गाउँघरका मौलिक कला उद्योगको प्रवद्र्धनका लागि प्रविधि अनुसार विकास गर्दै बजार प्रवद्र्धन गर्नुपर्छ ।’

उनले महिलाले उत्पादन गरेका सामानको बजार प्रवद्र्धनमा समस्या रहेकाले सरकारले नै बजारी करणका लागि पहल गरिदिन आवश्यक रहेको बताईन् । सम्मेलनले पार्वती लामिछानेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सम्मेलनले वरिष्ठ उपाध्यक्ष बसन्ति अधिकारी, उपाध्यक्ष बालकुमारी सुनार, कोषाध्यक्ष रत्ना केसी तथा सदस्यमा मनुकेशरी विसी, सावित्रा ढकाल र डिला थापालाई चयन गरेको छ । महासचिव सहित ४ जना सदस्यलाई आउँदो बैठकमा मनोनित गरिने समितिले जनाएको छ । सम्मेलनले केन्द्रीय प्रतिनिधिमा गोमा वली, रुपा भण्डारी, चन्द्रकला पुन, कल्पना सोमै र भगवती दमाईलाई चयन गरेको नवनिर्वाचित अध्यक्ष लामिछानेले बताईन् ।

Translate »