सुर्खेतमा छाडा गाईगोरुको गणना शुरु

भदौ ३१, सुर्खेत ।
कर्णाली प्रदेश सरकारले सुर्खेतमा रहेका छाडा गाईगोरुको व्यवस्थापन गर्न गणना शुरु गरेको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले छाडा गाईगोरु व्यवस्थापन गर्न मंगलबारदेखि वीरेन्द्रनगरबाट गणना शुरु गरेको हो । छाडा गाईगोरु व्यवस्थापनका लागि बनेको कार्यदलले पहिलो दिन १ सय ४२ वटा छाडा गाईगोरुको गणना गरिएको बताएको छ । कार्यदलका संयोजक तथा पशुपन्छी विकास निर्देशनालयका निर्देशक डाक्टर टंकप्रसाद प्रसाइले मंगलबार सदरमुकामको बाङ्गेसिमलदेखि भेरी नदी पुलसम्म ८५ वटा र बाङ्गेसिमलदेखि रानीघाटसम्म ५७ वटा छाडा गाईगोरु फेला परेको जानकारी दिए ।

उनले प्रदेशभरी वेवारिसे छाडा छोडिएका पशु चौपायाको दिर्घकालिन व्यवस्थापनका लागि कार्यदलले गणना शुरु गरेको बताए । ‘पहिलो चरणमा वीरेन्द्रनगर आसपासमा फेला परेका छाडा गाईगोरुको गणना गरेर व्यवस्थापनका लागि सुझाव सहितको प्रतिवेदन मन्त्रालयलाई बझाइने छ,’ उनले भने । यता छाडा पशुको समस्यालाई अल्पकालिन तथा दिर्घकालिन रुपमा समस्या समाधान गर्न कार्यदलको प्रतिवेदन प्राप्त भएपछि मन्त्रालयले आवश्यक निर्णय लिने मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले जानकारी दिए ।

Translate »