सुर्खेतमा चाडपर्व केन्द्रित बजार अनुगमन कसरी हुँदैछ ?

सुपथ मूल्य पसल ‘हात्तीको मुखमा जिरा’

आकाश तारा बयक /असोज ९, सुर्खेत ।
नेपालीको महान् चाड बडादसैंको नजिकै आइसकेको छ । चाडपर्व नजिकिएसँगै सरकारले बर्सेनि बजार अनुगमनका काम तीव्र बनाउने गरेको छ । हरेक वर्षझैं सर्वसाधारणलाई सहज बनाउन सरकारले सुपथ मूल्यका पसल पनि सञ्चालन गर्ने गरेको छ । सुपथ पसलबाट सर्वसाधारणले गरेका अपेक्षा पूरा भएका छन् वा छैनन् भन्ने पाटो एका तर्फ छ । अन्य समयमा भन्दा ठूला चाडपर्वका बेलामा व्यवसायीले उपभोक्ता बढी ठगी गर्ने गरेको सूचनाका आधारमा चाडपर्वमा बजार अनुगमनमा तीव्रता दिँदै आइरहेको सरकार बताउँछ । तर, व्यवसायीले भने सरकारले मौसमी बजार अनुगमन गर्ने गरेको आरोप लगाउन छाडेका छैनन् ।

अझ, अनुगमनकै नाममा सरकारले कालोबजारी गर्ने गरेको कतिपयको आरोप समेत छ । त्यसो त, सरकारले प्रत्येक वर्ष मुहानमै सफा हुने गरी बजार अनुगमन गर्ने बताउँदै गर्दा यस वर्ष अनुगमन कतिको प्रभावकारी रुपमा हुँदै आएको छ भन्ने विषय पनि महत्वपूर्ण छ । उपभोक्ता ठग्ने व्यापारीलाई पहुँचका भरमा कारबाही नगरी उन्मुक्ति दिने, ठूला व्यवसायीलाई छाडेर स–साना व्यवसायमा मात्र अनुगमन केन्द्रित गरेको भन्ने समाचारहरु बेलाबेलामा सञ्चारमाध्यममा छाइरहेका हुन्छन् । तर, सुर्खेतमा भने नयाँ प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जिल्लाको नेतृत्व सम्हालेलगत्तै संख्यात्मक भन्दा गुणत्मक र प्रतिफलमुखी अनुगमन गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रजिअ अधिकारीले जनाएको प्रतिबद्धता पूरा भयो ?, दसैंको मुखमा बजार अनुगमन तीव्र रुपमा भएको छ ?, जिल्ला प्रशासन कार्यालयले यस्ता विषयमा कस्ता योजनाहरु अघि सारेको छ ? राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका सचिव रामप्रसाद शर्माका अनुसार अहिले जिल्लाका विभिन्न स्थानमा सातामा कम्तीमा पनि ४ पटकसम्म बजार अनुगमनका लागि संयुक्त बजार अनुगमन टोली निस्कने गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट खटाएको उक्त टोली मात्र बजार अनुगमनका लागि पर्याप्त नहुने उनी बताउँछन् । स्काई न्यूज दैनिकसँगको कुराकानीमा उनले भने, ‘सरकारले अनुगमनका लागि ल्याएका कुनै पनि काम प्रभावकारी रुपमा पूरा भएका छैनन् । बजार अस्तव्यस्त छ । सुपथ पसल पनि प्रभावकारी रुपमा सञ्चालनमा आएका छैनन् ।’


सकारले बर्सेनि सञ्चालन गर्ने सुपथ मूल्य पसल ‘हात्तीको मुखमा जिरा’ भएको उनले टिप्पणी गरे । सम्पूर्ण सर्वसाधरणलाई बजारमा भएका खाद्यवस्तुदेखि अन्य दैनिक उपभोग्य सामानको गुणस्तर नियन्त्रण र बजार अनुगमनमा प्रदेश सरकार चुकेको उनले बताए । कर्णाली प्रदेश सरकारले दसैंकेन्द्रित बजार व्यवस्थापनका लागि कुनै पनि योजना अघि नसारेको, आफूहरुलाई काम गर्नका लागि कुनै पनि व्यवस्थापन नमिलाएको उनले गुनासो गरे ।

जिल्ला प्रशासन कार्यालयले अहिले पनि खुद्रा पसलमा पेय तथा खाद्य पदार्थको म्याद नाघेका, मूल्यसूची नराखेका, व्यवसाय दर्ता प्रमाणपत्र नभएको जस्ता विषयमै अनुगमन केन्द्रित राखेको छ । बजार अनुगमनका क्रममा व्यापारीले म्याद नागेको र लेबल नभएका सामान बिक्री गरेको फेला पारेपछि व्यापारीलाई पक्राउ गरेर कारबाही पनि नगरेको भने होइन । बजार अनुगमन समितिले दैनिक उपभोग्य सामग्रीमा विशेष ध्यान दिएको बताएको छ ।

बजारमा हुने गरेको बदमासी रोक्ने सन्दर्भमा अपर्याप्त नीतिमा सुधार गरी कारबाहीको प्रक्रिया अगाडि बढाउने योजना बनाएको प्रजिअ अधिकारीले बताए । यसैवीच संयुक्त बजार अनुगमन समितिले विहीबार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका निमित्त प्रमुख भेषबहादुर थापाको नेतृत्वमा वीरेन्द्रनगरको बाङ्गेसीमल, एरीचोकलगायतका करिब १३ वटा पसलबाट विभिन्न म्याद नाघेका, सडेगलेका खाद्य तथा पेय पदार्थ जफत गरेको छ ।

Translate »