

सुर्खेत । कालिकोट जिल्लाको पलाँता अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि भएको कुटपिट तथा अमानवीय व्यवहारको घटनाप्रति नेपाल चिकित्सक संघ, सुर्खेत शाखाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघ, सुर्खेत शाखाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै सम्बन्धित निकायसँग स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी प्रचलित कानुनबमोजिम घटनामा संलग्न दोषीहरुलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याई हदैसम्मको कारबाही गर्न तथा स्वास्थ्यकर्मीहरुको सुरक्षा र सम्मान सुनिश्चित गर्न जोडदार माग गरेको हो ।
सुर्खेत शाखाका अध्यक्ष डाक्टर विकास केसी र महासचिव डाक्टर सुशील समदर्शीद्वारा जारी प्रेस विज्ञप्तिमा नेपाल चिकित्सक संघ, केन्द्रीय कार्यसमितिसँग समन्वय र सहकार्य गर्दै आवश्यक परे स्वास्थ्यकर्मीको सुरक्षा र न्यायका लागि सञ्चालन गरिने आन्दोलनका कार्यक्रमहरुमा संघ, सुर्खेत शाखाको पूर्ण ऐक्यबद्धतासँगै सक्रिय सहभागिता तथा समर्थन रहने व्यहोरा उल्लेख गरिएको छ ।

उक्त घटनाका सम्बन्धमा प्रमुख जिल्ला अधिकारीसमक्ष आवश्यक जानकारी गराइएको तथा नेपाल चिकित्सक संघ, केन्द्रीय कार्यसमितिसँग निरन्तर समन्वय एवं सहकार्य भइरहेको बताईएको ।
शुक्रबार कालिकोटको पताँला गाउँपालिका वडा–९ थिर्पुमा रहेको पताँला अस्पतालका मेडिकल अफिसर डा.अली हैदर राईन र स्टाफ नर्स शान्ता गिरीमाथि अस्पतालभित्र इन्टरनेट चलाउन आएका स्थानीय व्यक्तिहरुले आक्रमण गरेका थिए ।











