बीरेन्द्रनगरलाई नमूना शहर बनाउन मुख्यमन्त्रीको आव्हान

स्काई न्यूज /कार्तिक ३०, सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरलाई नमूना शहर बनाउन आव्हान गरेका छन् । शनिबार जनहितकारी वचत तथा ऋण सहकारी संस्थाको २१ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दे मुख्यमन्त्री शाहीले सिंगो प्रदेशको प्रतिविम्व हुने गरि वीरेन्द्रनगरलाई गुरुयोजनासहितको सुन्दर, सफा शहर बनाउन सर्वसाधारणलाई आव्हान गरेका हुन् । उनले वीरेन्द्रनगरलाई नमूना शहरका रुपमा विकास गर्न प्रदेश सरकारले आवश्यक पहल गरिरहेको पनि जानकारी दिए ।

‘सडक, खानेपानी, विद्युत, सरसफाई तथा अन्य पुर्वाधार विकासका लागि दीर्घकालीन सोच सहित नयाँ गुरुयोजनाको आवश्यकता रहेको छ,’ उनले भने, ‘अव्यवस्थित रुपमा भईरहेको जग्गाको खण्डीकरण तथा अनियन्त्रित संरचना निर्माण कार्यलाई तत्काल रोक्नु पर्छ ।’ उनले स्वच्छ, सफा तथा प्रदुषणरहित शहर निर्माणका लागि नागरिकको समेत उत्तरदायित्व रहने हुँदा जथाभावी फोहर फाल्ने बानीको अन्त गर्नुपर्नेमा जोड दिए । उनका अनुसार यस वर्ष प्रदेश सरकारले वीरेन्द्रनगरमा रहेको खानेपानीको समस्या सामाधान गर्न ५० करोड रुपैयाँ वजेट विनियोजन गरिएको छ । उनले खानेपानी आपूर्तिको दीर्घकालीन समाधान नहुँदासम्म विभिन्न उपायहरुको खोजी गरेर पनि तत्कालीन समस्या समाधान गरिने जिकिर गरे । ‘दिर्घकालिन समस्या समधानका लागि चिङगाड खोलाको पानी वीरेन्द्रनगर ल्याउनु नै पर्छ,’ उनले भने, ‘चिङगाड खोलाको पानी ल्याउने बारेमा अहिले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम शुरु भएको छ ।’ उनले वैकल्पिक व्यवस्था अन्र्गत भेरी नदीको पानी लिफ्ट गरि ल्याउने बारेमा समेत प्रारम्भिक प्रक्रिया शुरु भईसकेको जानकारी दिए ।

आउँदो सुख्खा याममा पानीको हाहाकार कम गर्न टं्¥याङकरमा पानी बोकाएर भएपनि वीरेन्द्रनगरमा माग अनुसारको आपूर्ति पुरा गर्न प्रदेश सरकार लागि परेको उनको भनाइ छ । ‘प्रदेश सरकारले गरिवी न्यूनिकरणका लागि अघिल्लो वर्ष वितरण गरेको अनुदान कार्यक्रमको परिणाम सन्तोषजनक देखिएन,’ उनले भने, ‘त्यसको विकल्पमा बैकिङ्ग पहुँच भन्दा टाढा रहेका दूरदराजका गरिव, विपन्न तथा निम्न आयस्रोत भएका सर्वसाधारणका लागि सरकारले यस वर्षदेखि सहुलियत ऋणमा आधारित कार्यक्रम ल्याउन लागेको छ ।’ उनले ऋणमा आधारित कार्यक्रम सर्वसाधारणको आयस्रोत बृद्धि गरि प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार त्यसका लागि अहिले कार्यविधि बनाउने काम भईरहेको छ । पछिल्लोपटकको चिन भ्रमणका क्रममा वीरेन्द्रनगरको व्यवस्थित सहरीकरण तथा चक्रपथ निर्माणका लागि आफुले गरेको प्रस्तावमा चिनियाँ पक्ष समेत सकारात्मक रहेको उनको भनाइ थियो ।

यसैवीच जनहितकारी बचत तथा ऋण सहकारीले यस वर्ष ७५ लाख ९७ हजार ४ सय १४ रुपैयाँ शुद्ध नाफा, ३८ करोड ९९ लाख ५३ हजार बढी निपेक्ष संकलनसँगै ३९ करोड ८१ लाख बढी ऋण प्रवाह गरेको जनाएको छ । २१ औं वार्षिक साधारण सभाको प्रतिवेदन प्रस्तुत गर्दे अध्यक्ष हरिहरनाथ योगीले कुल लगानीको ६५ प्रतिशत रकम आफ्ना सदस्यलाई व्यवसायी बनाउन ऋण प्रवाह गरिएको बताए । उनले संस्थाद्वारा वार्षिक ५ सय जनालाई व्यवसायी नै बनाउने अभियान लिएर अगाडि बढेको जनाए । उनका अुनसार संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत यस वर्ष सुत्केरी भत्ता, अपाङ्ग, छात्रछात्रालाई छात्रबृत्ति, जेष्ठ नागरिक सहयोगसँगै यसैवर्षदेखि दुर्घटना वीमा कार्यक्रम समेत शुरु गरिएको छ ।

Translate »