हावाहुरीका कारण कालीकोटमा टेलिफोन सेवा अवरुद्ध

 कालीकोट । कालीकोटमा शुक्रवार राति परेको हावाहुरीका कारण टेलिफोन सेवा अवरुद्ध भएको छ । हावाहुरीले टेलिफोनका टावर भत्किँदा र कतिपय स्थानमा सोलार प्लान्टमा समस्या आउँदा जिल्लाभर टेलिफोन सेवा अवरुद्ध भएको हो । टेलिफोन सेवा अवरुद्ध हुँदा जिल्लाका रास्कोट नगरपालिका तथा नरहरिनाथ, पचालझरना, पलाँता, सान्नीत्रिवेणी, महावै, तिलागुफा र शुभकालिका गाउँपालिकाका स्थानीयवासी टेलिफोन सेवाबाट वञ्चित भएका छन् ।

शुक्रवार राति हावाहुरी आउँदा मोबाइल सेवाले काम नगरेको नरहरिनाथ गाउँपालिका–९ लालुका दुर्गा बोहोराले बताए । ‘हाम्रो गाउँमा मोबाइलको टावर थियो । त्यो टावरले काम गर्न शुक्रवारदेखि छाडेको छ,’ उनले भने, ‘फोन सेवा नहुँदा अहिले बाहिर दुनियाँदेखि टाढा भएको अनुभूति भइरहेको छ ।’ सान्नी त्रिवेणी गाउँपालिकामा टेलिफोनको टावर भए पनि हावाहुरीका कारण टावरमा समस्या आएको छ । स्थानीयवासी रामबहादुर सञ्जयालले टेलिफान सेवा नहुँदा सञ्चारमा समस्या आएको बताए । ‘दुई दिनदेखि मोबाइल फोनले काम गरेको छैन,’ उनले भने, ‘टावरमा समस्या आएका कारणले यो समस्या आएको हो ।’

पलाँता गाउँपालिका टेलिकमको टावर जडान भएको ठाउँमा रहेको सोलार प्यानललाई फुटाएका कारणले टेलिकम सेवा अवरुद्ध भएको पुगेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए । ‘टावर राखेका ठाउँमा रहेको सोलार प्यानल असिनापानी र हावाहुरीले फुटाएकाले फोन सेवा अवरुद्ध भएको छ,’ उनले भने, ‘यो प्राविधिक विषय भएकाले टेलिकम कार्यालयलाई जानकारी गराएका छौं ।’

हावाहुरीका कारण जिल्लाभरका फोन सेवामा समस्या आएको छ । मोबाइल सेवा र इन्टरनेट सेवा सुचारु गर्न आवश्यक जनशक्ति र सामग्री बाहिरबाट मगाइएको नेपाल टेलिकम जिल्ला कार्यालय कालीकोटले जानकारी दिएको छ । रासस

Translate »