रोहित र सन्दीपको उत्कृष्ट प्रदर्शनमा नेपालले स्कटल्याण्डलाई २ विकेटले हरायो

शृंखलाका चारै खेलमा नेपाल विजयी

फागुन ९, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको अन्तिम खेलमा घरेलु टोली नेपालले स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानमा मंगलवार (आज)सम्पन्न खेलमा २१३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले स्कटल्याण्डमाथि २ विकेटको जित निकालेको हो । कप्तान रोहित पौडेलले उत्कृष्ट ब्याटिङ र बलर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेपछि नेपालको जित सम्भव भएको हो । पौडेलले अभिजित ९५ रन बनाए ।

त्यसअघि लामिछानेले स्कटल्याण्डको ब्याटिङ लाइनअप ध्वस्त पारेका थिए । उनले ४ जना स्कटिस खेलाडीलाई आउट गरेका थिए ।

जितसँगै नेपालले शृंखलाका चारओटै खेलमा जित हासिल गरेको छ । ७ टोली सहभागी लिग–२ को अंकतालिकामा नेपाल छैटौं स्थानमा छ । स्कटल्याण्ड भने शीर्ष स्थानमा छ । नेपालले ३८ खेलबाट २६ अंक बटुलेको छ भने प्रतियोगिताका सबै खेल खेलिसकेको स्कटल्याण्डको ३६ खेलबाट ५० अंक छ । प्रतियोगितामा सहभागी टोलीले ३६ खेल खेल्नेछन् ।

अंकतालिकामा ओमान, नामिबिया, अमेरिका, युएई क्रमशः दोस्रोबाट पाँचौं स्थानमा छन् । पपुवा न्युगिनी भने पुछारमा छ । अंकतालिकामा ओमानको ४४, नामिबियाको ३७, अमेरिकाको ३५ र युएईको २७ अंक छ । पपुवा न्युगिनीको भने ५ अंक मात्रै छ । ओमान र अमेरिकाले प्रतियोगिताका सबै खेल खेलिसकेका छन् भने नामिबियाले २ खेल खेल्न बाँकी छ । यस्तै, युएईले ९ र पपुवा न्युगिनीले ८ खेल खेल्न बाँकी छ । आर्थिक अभियान

Translate »