गाईमाथि किन निगरानी गर्दैछन् विश्वभरका वैज्ञानिक ?

काठमाडौं । एउटा गाई वा भैंसीले डकारेर वर्षभरिमा झन्डै २२० पाउन्ड मिथेन ग्यास उत्सर्जन गर्ने वैज्ञानिकले दाबी गरेका छन् । विश्वभर अहिले करीब १ अर्ब ७० करोड गाईभैंसी भएको अनुमान छ । यस आधारमा विश्वभरका गाईभैंसीले वर्षभर ३ खर्ब ७४ अर्ब पाउन्ड मिथेन ग्यास उत्सर्जन गर्छन् ।

विश्वको कूल हरित गृह ग्यास उत्सर्जनमा वस्तुभाउको योगदान करीब १५ प्रतिशत रहेकाे बताइएकाे छ । यसमा अधिकांश हिस्सा गाईले गर्ने डकार हो ।

अहिले अमेरिका, नेदरल्यान्डलगायत देशका वैज्ञानिकहरू गाई (cow) को डकारले वायुमन्डलमा पार्ने प्रभाव कम गर्न लागिरहेका छन् । जापानमा पनि अनुसन्धाताहरूको एउटा समूह गाईको डकारका कारण जलवायुमा पर्ने असर कम गर्नेतर्फ काम गरिरहेको छ । उनीहरूले गाईको पेटमा जडान गर्ने सेन्सर विकास गर्न अनि मिथेन निकाल्ने खानेकुरामाथि प्रभावकारी रूपमा निगरानी गर्दैछन् ।

होक्कादो विश्वविद्यालयको कृषि विद्यालयका प्राध्यापक यासुओ कोबायशीको नेतृत्वमा यो परियोजनाको सञ्चालन भइरहेको छ । यस परियोजनाको लक्ष्य सन् २०५० मा गाईको डकारबाट उत्सर्जन हुने मिथेन ग्यासको अनुपात ८० प्रतिशतले घटाउने छ ।

गाईले डकार्दा मिथेन ग्यास निस्कन्छ । विश्वव्यापी तापमान वृद्धिको मुख्य कारणमध्ये एक यसलाई पनि मानिएको छ । गाईको पेटमा खाना पचाउन ४ खन्ड हुन्छन्, गाईले खाएको घाँस दाना पचाउन पेटमा झन्डै ७ हजार ब्याक्टेरियाका प्रजातिहरू हुन्छ ।

पेटको पहिलो खन्ड रुमेनमा घाँस टुक्रयाउने र पचाउने प्रक्रिया चलिरहँदा हाइड्रोजन उत्पन्न हुन्छ । अन्य माइक्रोबहरूले यसलाई मिथेनमा बदल्छ । गाईको डकारका कारण निस्कने हरित गृह ग्यास कार्बनडाइअक्साइड भन्दा २५ गुणा धेरै हुने बताइएको छ ।

हालैका वर्षमा पृथ्वीमा मिथेनको उत्सर्जन बढेको छ । सेल इन्धनको उत्खननलगायत गतिविधि अनि गाईगोरुको बढ्दो संख्यालाई यसको मुख्य कारण मानिएको छ । हरेक दिन गाईको दानामा एक कप रातो लेउ मिसाएर खान दिँदा ९० प्रतिशतभन्दा कम मिथेन निस्कने पाइएको छ ।

गाईले डकार लिँदा निस्कने मिथेनको मात्रा कम कसरी गर्न सकिन्छ भनेर विविध अनुसन्धान भएका छन् । यसअघि एउटा अनुसन्धानमा काजुको बोक्राबाट निकालिने तेललाई गाईको दानामा मिसाउँदा हाइड्रोजनले मिथेनको सट्टा पोषक प्रोपिओनिक निकाल्ने देखाएको थियो । यसो गर्दा हरित गृह ग्यास उत्सर्जन करीब २० प्रतिशतले घट्ने देखियो ।

जापानी अनुसन्धानमा पनि गाईको दाना वा खानामा सीविड र वनस्पति तेल मिसाउँदा उत्सर्जन थप प्रभावकारी हुने देखिएको छ । अनुसन्धान समूहले गाईले कति बेला सबैभन्दा धेरै मिथेन उत्पादन गर्छ भन्ने हेर्न सानो सेन्सरको पनि विकास गर्न खोजेको छ । यो उपकरणलाई सन् २०३० सम्ममा गाईको पेटको माइक्रोबायल गतिविधि संकलन गर्न रुमेनमा राखिनेछ । आर्थिक अभियान

Translate »