भारतीय पृथकतावादी नेता अमृतपाल सिंह पक्राउ

काठमाडौं । खालिस्तानी पृथकतावादी नेता अमृतपाल सिंह भारतको पञ्जाबबाट पक्राउ परेका छन् । उनी मोगाको रोद गाउँबाट आज बिहान पक्राउ परेको भारतीय सञ्चार माध्यमहररुले जनाएका छन् ।

शिखहरूका लागि पञ्जाबमा छुट्टै देश ‘‘खालिस्तान’ बनाउने ‘वारिस पञ्जाब दे’ अभियानको नेतृत्व सिंहले गरिरहेका थिए । उनलाई आसामको दिब्रुगढ जेलमा पठाउने तयारी भईरहेको समाचार छ ।

त्यहाँ उनका अन्य सदस्यहरुलाई पहिले नै पक्राउ गरि राखिएको छ । उनी र उनका समर्थकहरूमाथि हत्या प्रयास र प्रहरी अधिकारीमाथि आक्रमण गरेको आरोप लगाइएको बीबीसीले उल्लेख गरेको छ । राष्ट्रिय सुरक्षा ऐन अनुसार उनलाई पञ्जाब प्रहरी र राष्ट्रिय अनुसन्धानको टोलीले पक्राउ गरेको हो ।

शिख समुदायका लागि स्वायत्त राज्यको माग गर्दै उनले ‘वारिस पन्जाब दे’ संगठनको नामबाट गतिविधि गर्दै आएका थिए । त्यो संगठनका प्रमुख अमृतपाल सिंह नेपालमा लुकेर बसेको नेपालस्थित भारतीय दूतावासले दावी गरेको थियो । तर नेपाल प्रहरीले त्यसको खण्डन गरेको थियो ।

अमृतपाल सिंहको बारेमा प्रतिनिधि सभामा पनि कुरा उठेको थियो । तर पन्जाब प्रहरीले अमृतपाल सिंह पन्जाबकै मोगा भन्ने स्थानबाट पक्राउ परेको जनाएको छ । लामो समय दुबईमा बसेपछि उनी गत वर्षको अगष्ट महिनामा पन्जाब फर्किएका थिए । त्यसपछि उनले अमृत सन्चार नशा मुक्ति आन्दोलनको नामबाट युवाहरुलाई संगठित गर्न सुरु गरेका थिए ।

पन्जाबबाट उनका थुप्रै समर्थकहरुलाई प्रहरीले गिरफ्तार गरेको थियो । अमृतपाल भने लुकेर बस्दै आएका थिए । उनका बुवा तरसेम सिंहले छोरा अमृतपालको ज्यानको खतरा रहेको बताएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

३० वर्षीय सिंहले भारतभित्र खालिस्तानी पृथकतावादी अभियान पुनः जगाउने अभियान सुरु गरेको भारतीय सञ्चारमाध्यमहरूको दाबी छ । सन् १९८० को दशकको अन्तिम र ९० को दशकको सुरुमा खालिस्तान पृथकतावादी आन्दोलन चरम रहेको थियो । भारतीय सुरक्षा निकायले दमन गरेपछि भारतभित्र उनीहरुको गतिविधि थिएन ।

 

 

Translate »