२०८३ असोज २९ , बिहीबार
Sky News Nepal
October 15, 2026

इजरायलमा विद्यार्थीले ज्यान गुमाउँदा सुदूरपश्चिम विश्वविद्यालय शोकमा

त्यहाँ रहेका विद्यार्थीलाई घर फर्कने वातावरण बनाउन सरकारसँग अभिभावकको आग्रह


कैलाली। ‘अहिले यहाँ (इजरायलमा) कति बेला के हुन्छ, केही अत्तोपत्तो छैन । हामीहरू शनिवारदेखि बङ्करमा लुकेर ज्यान जोगाउन बाध्य छौं । यहाँ सोचेजस्तो सहज केही पनि छैन । कति बेला आकाशमा कालो धुँवाको मुस्लो उठ्छ थाहै हुँदैन । निकै नै त्रसित माहोल छ, मिसाइल कति बेला कताबाट आयो पत्तो पाइँदैन,’ इजरायलमा रहेका कैलालीको टीकापुरका निश्चल पाण्डेले पठाएको सन्देश हो यो ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान सङ्कायबाट ‘अर्न एण्ड लर्न कार्यक्रम’मार्फत इजरायल पुगेका पाण्डेले अगाडि लेखेका छन्, ‘साइरनको त्यो ठूलो आवाजले सातो जान्छ । आकाशमा हेलिकोप्टर र फाइटर जेट निरन्तर उडिरहेका छन् । बङ्करमा पनि सोचेजस्तै सहज केही छैन । न खाना न पानी अनि त्यो चिसो भुइँमा त्रासैत्रासमा बिताउनुको पीडाले नर्कमा भएको अनुभूति भएको छ । आजको रात निकै लामो हुने छ । पर्खाइ त्यो भोलि शुभ बिहानीको हुनेछ ।’

उनले सन्देश पठाएको केही समयपछि उक्त आक्रमणमा परी १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएको समाचार आयो । सो घटनापछि सुदूरपश्चिम विश्वविद्यालय शोकमा परेको छ । ‘घटनाले विद्यार्थी हतोत्साहित बनेका छन् । शिक्षक भावविह्वल बनेका छन् । क्याम्पसका पठनपाठन बन्द भएको छ । आन्तरिक परीक्षा स्थगित भएको छ,’ क्याम्पसका उपप्राध्यापक प्रेम पाण्डेले भने, ‘हामीसँग बोल्ने शब्द बाँकी छैनन् । घटनाले हामीलाई विवश बनाएको छ ।’ उक्त घटनाले विद्यार्थीको मनोबल कमजोर बन्ने स्थिति देखिएको उनले बताए ।

विश्वविद्यालयका उपप्राध्यापक सरोज घिमिरेले विद्यार्थीको मृत्युले राज्यले ठूलो जनशक्ति गुमाएको बताए । उनी भन्छन्, ‘आज दुःखद् घटना घट्यो । यस्तो अवस्थामा हामीसँग कुनै उत्तर छैन ।’

उपप्राध्यापक गुरु अधिकारीले सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल पुगेका अन्य विद्यार्थी पनि जोखिममा रहेको बताए । उनले जतिसक्दो चाँडो राज्यले घाइतेको उपचारमा र अन्यलाई नेपाल फर्कने वातावरण बनाउन आग्रह गरे । ‘राज्यको भूमिका औपचारिकता मात्रै देखिएको छ । हाम्रा अन्य विद्यार्थी पनि जोखिममा छन् । उहाँहरूको समयमै उद्धार होस्,’ उनले भने, ‘आज विद्यार्थीका अभिभावक भावविह्वल अवस्थामा छन् । सिङ्गो क्याम्पस शोकमा छ । म आग्रह गर्छु, राज्य जिम्मेवार बनोस् ।’

कृषि विज्ञान सङ्कायको दोस्रो वर्षमा अध्ययनरत सुन्दर विश्वकर्मा थापाले इजरायलमा रहेका विद्यार्थीको निधनले आशाको दियो निभेको बताए । पहिलो ब्याचका विद्यार्थी इजरायल जाँदा आफूले बोकेका सपनामा पूर्णविराम लागेको उनको भनाइ छ । ‘हामीभन्दा अघिल्लो ब्याचका विद्यार्थीहरू थप सिकाइका लागि इजरायल जानुभएपछि आफूहरू पनि जानुपर्छ भन्ने लागेको थियो । अहिलेको घटनाले त्यो सपनामा पूर्णविराम लागेको छ ।’ उनले त्रासमा रहेका सबै विद्यार्थीलाई नेपाल फिर्ताका लागि सरकारले चाँडो पहल गर्नुपर्ने बताए ।

विश्वविद्यालयबाट भदौ २६ गते इजरायल पुगेका निश्चल पाण्डेका बुबा उत्तम पाण्डेले आफ्नो छोरासहित सबै विद्यार्थीलाई नेपाल फिर्ताका लागि सरकारसँग आग्रह गरेका छन् । उनले छोरासँग सम्पर्क भइरहेको बताउँदै त्यहाँ रहेका विद्यार्थी निकै असुरक्षित भएको बताए । ‘बाहिरको वातावरण निकै असुरक्षित छ भनेर छोरासँग सम्पर्क भइरहेको छ । उहाँहरू अझै पनि बङ्करमा बसेर जीवन जोगाइराख्नुभएको छ,’ पाण्डेले भन्नुभयो, ‘उहाँहरूको कुराले सबै विद्यार्थी नेपाल फर्किन चाहन्छन् । हामी अभिभावक पनि आफ्ना सन्तान फर्केको हेर्न चाहान्छौं । सरकारले हाम्रा सन्तान नेपाल फर्कने वातावरण बनाओस् ।’

विश्वविद्यालयको कृषि विज्ञानतर्फ स्नातक तहको अन्तिम सेमेष्टारका ४९ जना विद्यार्थीमध्ये भदौ २६ गते १५ जना र भदौ २७ गते ३५ जना विद्यार्थी इजरायल गएका थिए । उनीहरूमध्ये १० जना छात्रा छन् । उनीहरू १० महीनाका लागि इजरायल गएका थिए । विद्यार्थीले ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत साताको एक दिन अध्ययन, पाँच दिन काम र एक दिन छुट्टीमा बस्ने उल्लेख थियो । कृषि विज्ञान सङ्कायले कार्यक्रमअन्तर्गत पहिलो पटक विद्यार्थी पठाएको हो । रासस

प्रकाशित मिति : २०८० असोज २२ गते सोमबार
Translate »