मध्यपश्चिम विश्वविद्यालय र डीआईयु वीच समझदारी

ढाका । मध्यपश्चिम विश्वविद्यालय (एमयु) सुर्खेत र डैफोडिल इंटरनेशन युनिभरसिटी (डीआईयु) बंगलादेश वीच शैक्षिक सहयोगका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । बंगलादेशको ढाका स्थित बिरुलिया, सावरमा आज मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंह र डैफोडिल इन्टरनेशन युनिभरसिटीका उपकुलपति एम.लुत्फर रहमानवीच एक आपसमा शैक्षिक सहयोगका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

विद्यार्थी आदानप्रदान, संकाय आदानप्रदान, शोध, अनुसन्धान आदानप्रदान, इन्टर्न एक्सचेन्ज, छात्रबृत्ति अवसरलगायत शैक्षिक सहकार्यका लागि एमयु र डीआईयु वीच समझदारी पत्र (एमओयु) भएको छ । एमओयू कार्यक्रमपछि डीआईयुका उपकुलपति रहमानले डीआईयुको स्वास्थ्य तथा जीवन विज्ञान संकाय अन्तर्गत फार्मेसी विभागमा भिजिटिङ पदका लागि एमयुका उपकुलपति सिंहलाई नियुक्त पत्र हस्तान्तरण गरेका छन् ।

त्यसअघि भएको विश्वयविद्यालय सेमिनारमा एमयूका उपकुलपति सिंहले ‘विश्वविद्यालयको स्वायत्तता’ र २१ औं शताब्दीमा मध्यपश्चिम विश्वविद्यालयको रुपान्तरणात्मक सुधारहरुको बारेमा आफ्नो प्रस्तुति दिएका थिए । उनले डीआईयुका अधिकारी तथा विद्यार्थीहरुलाई ‘आणविक’ विषय अन्तर्गत नेपालबाट एप्लाइट एथनो–जीनोमिक्सका साथ आधुनिक मानवका लागि उपयोगि प्रवृत्ति र प्रविधिहरुका बारेमा समेत जानकारी दिए ।

डीआईयुका अन्तर्राष्ट्रिय मामिलाका उपनिर्देशक सैयद रैहान–उल–इस्तामले उपकुलपति सिंहलाई डीआईयुका विभिन्न विभाग र संस्थानहरुको अवलोकन गराएको एमयुका सूचना तथा सञ्चार विज्ञ पञ्चदेव भट्टले बताए ।

 

Translate »