रुसी सेनामा कार्यरत थप सात जना नेपालीको मृत्यु

काठमाडौं । रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धका क्रममा थप ७ नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरि मृतकहरुको नाम सार्वजनिक गरेको हो । युद्धका क्रममा ज्यान गुमाउनेहरुमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गङ्गाराम अधिकारी, बागलुङका जीतबहादुर बिक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेका छन् ।
यससँगै सरकारले प्राप्त गरेको औपचारिक तथ्यांकअनुसार रसियामा मृत्यु हुने नेपालीको सङ्ख्या १९ पुगेको छ । यसअघि १२ जना नेपालीको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो ।

यसैगरी, रुसी सेनामा ज्यान गुमाएका नेपालीहरूको परिवारलाई रुसी सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार गर्न तथा त्यहाँ कार्यरत नेपालीलाई फिर्ता पठाउनका लागि रुसी सरकारलाई पुनः अनुरोध गरिएको छ ।
मन्त्रालयले यसअघि विज्ञप्तिमार्फत सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेशा व्यवसायमा संलग्नलाई बाहेक अन्य सर्वसाधारण नागरिकलाई रुस यात्रामा जानुपरे नो अब्जेक्सन लेटर लिएर मात्र यात्रा गर्न भनेको थियो ।