रुसमा शुक्रबार राष्ट्रपति पदका लागि निर्वाचन हुँदै

काठमाडौं । रुसमा भोलि (शुक्रबार) राष्ट्रपति पदका लागि निर्वाचन हुदैछ । निर्वाचन प्रक्रिया आइतबारसम्म चल्नेछ । निर्वाचनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पाँचौं पटक पुनः सत्ता सम्हाल्न सक्ने आँकलन गरिएको छ ।

निर्वाचनपछिको जितले उनलाई कम्तीमा सन् २०३० सम्म क्रेमलिनमा बस्न अनुमति दिनेछ । यो १८औं शताब्दीमा क्याथरिन दि ग्रेटपछि कुनै पनि रुसी नेताको लामो शासन अवधि हो ।

मतदानको पूर्व सन्ध्यामा रुसी जनतालाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले देशमा ‘कठिन’ समयमा हुने निर्वाचनमा मतदान गर्न रुसी जनतासँग आग्रह गरे । लामो समयसम्म सेवारत पुटिनले एक पटक पुनः सत्तामा आफ्नो पकड बलियो बनाउन चाहेका छन् ।

उनले युक्रेनबाट हालै कब्जा गरिएका चार क्षेत्रका साथै सन् २०१४ मा मस्कोले कब्जा गरेको क्रिमिया प्रायद्वीपमा पनि मतदान हुने बताए ।

चुनावी अभियानमा युक्रेन आक्रमणको विपक्षमा रहेका बोरिस नादेज्दिन र येकातेरिना डन्टसोभाले आफ्नो उम्मेदवारीको समर्थनमा दशौं हजार हस्ताक्षर संकलन गर्दै उम्मेदवारीको घोषणा गरेका थिए, तर उनीहरूको उम्मेदवारी अस्वीकृत भएको छ ।

पुटिनबाहेक राष्ट्रवादी कन्जरभेटिभ लिओनिद स्लट्स्की, कम्युनिस्ट पार्टीका निकोलाई खारिटोनोभ र प्रसिद्ध व्यापारी भ्लादिस्लाभ दाभानकोभ गरी तीनजना पुटिनसँगको प्रतिस्पर्धामा छन् । तीनैजनाले युक्रेनविरुद्ध भइरहेको रुसको आक्रमणलाई समर्थन गरेका छन् ।

क्रेमलिनका आलोचकले यी तीन उम्मेदवारको भूमिका विपक्षीलाई दमन गरी पाखा लगाइएको वा देशभित्र उनीहरूको राजनीतिक भूमिका नै अन्त्य गरिएको समयमा मतदानमा बहुलवादी रङ भर्ने र पुटिनविरोधी आलोचनालाई कमजोर पार्ने रहेको औंल्याएका छन् ।

Translate »