माल्दिभ्स संसदीय चुनाव : इण्डिया आउट अभियान चलाउने मुइज्जुको पार्टीलाई दुईतिहाइ

आर्थिक अभियान /काठमाडौं । माल्दिभ्सको संसदीय निर्वाचनको मतदान आइतबार सम्पन्न भएको छ । केन्द्रिय संसदको ९३ सिटका लागि भएको मतदानमा भारत विरोधी मुइज्जुले पार्टीले झन्डै दुईतिहाई मत पाएको समाचार ऐजेन्सीहरूले जनाएका छन् ।

८६ सिटको नतिजा बाहिर आएकोमा ६६ सिट नेशनल पिपुल्स कंग्रेसले जितेको छ । माल्दिभ्समा सरकार बनाउन कुनै पनि दललाई बहुमतका लागि ४७ भन्दा बढी सिट चाहिन्छ । नतिजा आधिकारिक घोषणा हुन एक साता लाग्ने बताइएको छ ।

माल्दिभ्सको निर्वाचन आयोगले शेयर गरेको नतिजा अनुसार अहिलेसम्म भएको मतगणनामा मुइज्जुको पार्टीले ६६ सिट प्राप्त गरेको छ भने भारत समर्थक एमडीपीले ११ सिट प्राप्त गरेको छ । ३६८ उम्मेदवार प्रतिस्पर्धामा रहेकामा ४२ महिला उम्मेदवार रहेका थिए  ।

माल्दिभ्सले निर्वाचन क्षेत्रमा ६०२ मतदान केन्द्र स्थापना गरेको थियो । तीमध्ये तीनवटा विदेशमा श्रीलङ्काको कोलम्बो, भारतको त्रिवेन्द्रम र मलेसियाको क्वालालम्पुरमा रहेका थिए । आगामी ५ वर्षको कार्यकालका लागि निर्वाचित भएको संसदको कार्यकाल मे महिनामा शुरू हुँदैछ । समाचार एजेन्सी एपीका अनुसार मुइज्जुको जित भारतका लागि ठूलो झट्का हो । यो चुनावमा भारत र चीनको नजर थियो । दुवै रणनीतिक रूपमा महत्त्वपूर्ण माल्दिभ्समा आफ्नो पकड बलियो बनाउन चाहन्छन्।

मुज्जुको पार्टी ८ देखि ६६ सिटमा पुग्यो
गत संसदीय निर्वाचनमा मोहम्मद मुइज्जुको पार्टीले ८ सिट मात्रै जितेको थियो । जसका कारण राष्ट्रपति भए पनि मुइज्जुले आफ्नो नीतिअनुसार न त विधेयक पारित गराउन न बजेट पारित गराउन सकेका थिए । अब ६६ सिट जितेपछि विपक्षी दलले उनलाई कुनै अवरोध खडा गर्न सक्नेछैन ।

भारत समर्थक मानिने माल्दिभ्स डेमोक्रेटिक पार्टी (एमडीपी) चुनावमा लज्जास्पद हार बेहोरेको छ । एमडीपीले ८९ जना उम्मेदवारी दिएका थिए । जसमध्ये एक दर्जन उम्मेदवारले मात्रै जित हासिल गरेका छन् । मुइज्जु सरकारका एक वरिष्ठ अधिकारीले समाचार एजेन्सी एएफपीलाई चुनावमा भूराजनीति महत्त्वपूर्ण मुद्दा भएको बताएका थिए।

अधिकारीका अनुसार मुइज्जुले भारतीय सैनिकहरूलाई देशबाट निष्कासन गर्ने वाचामा जितेका थिए। उनी पनि यसमा काम गरिरहेका छन् तर संसदले उनलाई सहयोग गरेको थिएन । राष्ट्रपति चुनाव जस्तै मुइज्जुले संसदीय चुनावमा पनि माल्दिभ्सबाट भारतीय सेना फिर्ता गर्ने मुद्दा उठाएका थिए ।

त्यस्तै, माल्दिभ्समा चुनाव अघि एउटा महत्वपूर्ण घटना घटेको छ । त्यहाँको उच्च अदालतले पूर्व चीन समर्थक राष्ट्रपति अब्दुल्लाह यामिनलाई उनीविरुद्ध लगाइएको सबै आरोपबाट सफाइ दिएको छ। यामीनमाथि दुईओटा मुद्दामा भ्रष्टाचारको आरोप लागेको थियो । जसका कारण उनलाई ११ वर्षको जेल सजाय सुनाइएको थियो । मुइज्जु राष्ट्रपति बनेपछि यामिनलाई जेलबाट निकालेर घरमै नजरबन्दमा राखिएको थियो।

उच्च अदालतको आदेशपछि उनी फेरि चुनावी राजनीतिमा सक्रिय हुन सक्ने बताइएको छ । यद्यपि उनले मुइज्जुको पिपुल्स नेसनल कांग्रेसलाई समर्थन गर्ने सम्भावना कम छ । जेलबाट बाहिर आएपछि उनले आफ्नो नयाँ पार्टी जनता राष्ट्रिय मोर्चा गठन गरे । तर, यसपटकको संसदीय निर्वाचनमा उनीहरुले एउटा सिट पाउने देखिएको छैन ।

मुइज्जु-यामिन मिलेर आए भारतलाई चिन्ता
राष्ट्रपति हुनुअघि मोहम्मद मुइज्जु माल्दिभ्सको राजधानी मालेका मेयर थिए। सन् २०१८ मा जब माल्दिभ्सका तत्कालीन राष्ट्रपति अब्दुल्ला यामीनले सत्ता छोड्नुपर्‍यो, मुइज्जु देशको निर्माण मन्त्री थिए। जब यामिन जेल गए, मोहम्मद मुइज्जुले आफ्नो पार्टीको नेतृत्व गर्ने मौका पाए । विज्ञहरूका अनुसार यामिनले अहिले छुट्टै पार्टी बनाए पनि चीन र भारतका सम्बन्धमा उनको अडानमा खासै परिवर्तन आएको छैन । यदि मुइज्जु र यामीन सँगै आए भने यो भारतका लागि चिन्ताको विषय हुन सक्ने भारतीयहरूको बुझाइ छ।

के थियो भारत-माल्दिभ्स सम्बन्धमा तनावको कारण ?
१५ नोभेम्बर २०२३ मा माल्दिभ्सका नयाँ राष्ट्रपति र मोहम्मद मुइज्जु सपथ ग्रहण गरियो। त्यसयता भारत र माल्दिभ्सबीचको सम्बन्ध चिसिएको छ । जसको पहिलो कारण मोहम्मद मुइज्जुले आफ्नो चुनावी अभियानमा इन्डिया आउटको नारा दिएका थिए।
त्यस्तै उनले माल्दिभ्सका मन्त्रीहरूले प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध आपत्तिजनक टिप्पणी गरेका थिए । सत्तामा आएपछि मुइज्जुले माल्दिभ्समा रहेको भारतीय सेनालाई फिर्ता गर्ने आदेश दिए जुन भारतलाई चित्त बुझिरहेको छैन । भारतसँगको हाइड्रोग्राफिक सर्वेक्षण सम्झौता खारेज गर्ने घोषणका कारण पनि भारत रूष्ट रहँदै आएको छ । (एएफपी/रासस)

Translate »