भेरी अस्पतालद्वारा बाल सुधार गृहका बालकको निःशुल्क उपचार

बाँके । जयेन्दु बाल सुधार गृहमा रहेका ११९ जना बालकहरूको निःशुल्क रुपमा उपचार गरिएको छ ।

जिल्ला बाल न्याय समिति, बाँके जिल्ला अदालत र एडभोकेसी फोरमले भेरी अस्पताल सँगको सहकार्यमा बाँके स्थित जयेन्दु बाल सुधार गृहमा भएको शिविरबाट ११९ जनाले स्वास्थ्य सेवा पाएको अधिवक्ता बसन्त गौतमले जानकारी दिए ।

स्वास्थ्य शिविरमा भेरी अस्पतालका यौन तथा छाला रोग विशेषज्ञ डाक्टर अस्मिता गौतम र अस्पताल नर्सिङ निरीक्षक बसुन्धरा ज्ञवालीको टोलीले उपचार गरेको थियो । स्वास्थ्य जाँचका क्रममा बालकहरूमा लुतो, इक्जीमा, धमौरा, फङ्गल इन्फेक्सन, किराको एलर्जी, डन्डिफोर, छालामा ब्याक्टेरियल इन्फेक्सनको समस्या देखिएको उपचारमा संलग्न डाक्टर अस्मिता गौतमले जानकारी दिईन् ।

स्वास्थ्य शिविरको उद्घाटन गर्दै बाँके जिल्ला अदालतका जिल्ला न्यायाधीश भीष्मराज प्रसाईँले जानी नजानी कानूनी विवादमा परेका बालकहरूले विगतलाई बिर्सेर असल नागरिक बन्नु पर्नेमा धारण राख्नु भएको थियो । सुधार गृहमा बालकहरूले गल्तीको महसुस गर्दै आचरणमा सुधार गरेको अवस्थामा अदालतले सजाय स्थगित गर्न सक्ने कानूनी प्रावधान रहेको न्यायाधीश प्रसाईँको भनाई थियो ।

अहिलेसम्म बाँके जिल्ला अदालतले ६ जना बालकको सजाय स्थगित गरेको न्यायाधीश प्रसाईँले जानकारी दिए । सुधार गृहमा छाला रोगको संक्रमण फैलिएर बालकहरूको स्वास्थ्यमा समस्या देखिए पछि स्वास्थ्य शिविर सञ्चालन गरिएको न्यायाधीश प्रसाईँले बताउनु भएको थियो ।


बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले शिविरबाट छाला रोगबाट पीडित बाल बन्दी लाभान्वित हुने भन्दै बालकहरू असल नागरिक बन्न सकेमा समाजमा पुनर्स्थापना हुन सहज हुने जिकिर गरे ।

छाला रोग बाहेक अन्य गम्भीर प्राकृतिकका बिरामीलाई थप उपचारका लागि भेरी अस्पतालमा आउन सुझाव दिइएको डा. गौतमले बताइन् । केही दिन पहिले भएको जिल्ला बाल न्याय समिति बैठकमा भेरी अस्पतालका मेसु डा. प्रकाश थापाले गम्भीर बिरामी बालबन्दीको सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत उपचार गर्न सकिने बताए । अदालतको समन्वयमा उक्त शिविर गरिएको मेसु थापाले जनाए ।

कार्यक्रममा बाँके जिल्ला अदालतका जिल्ला न्यायाधीश भीष्मराज प्रसाईँले कानूनी विवादमा रहेका ५ जना बालकहरूलाई एडभोकेसी फोरम नेपालको सहयोगमा समाजमा पुनर्स्थापना लागी प्रति बालक बीस हजार रुपैयाँका दरले उपलब्ध गराइएको एक लाखको बैङ्क विवरण सुधार केन्द्रकी इन्चार्ज बिमला काउचा मगरलाई हस्तान्तरण गरे ।

उक्त रकम बालक छुट्ने बेला वितरण गरिने सुधार गृह इन्चार्ज मगरले बताए । फोरमले बाल सुधार गृहबाट छुटेका बालकहरूलाई सानो तिनो पेशा व्यवसाय गरि समाजमा पुनर्स्थापना हुन सहज होस भन्ने उद्देश्यले जयेन्दु बाल सुधार गृहमा बालकहरूलाई सहयोग गर्दै आएको छ ।

 

Translate »