रेलमार्ग सर्भे गर्न आएको टोलीको गाडीमा आगजनी
चितवन । चितवनमा रेलमार्ग सर्भे गर्न आएको टोलीको गाडीमा आगजनी भएको छ ।
आज दिउसो पौने २ बजे भरतपुर महानगरपालिका–७ कृष्णपुर स्थितमा रोड म्याप सर्भेको लागि आएका आर एस इन्जिनियरिङ सोलुसन नामको निर्माण कम्पनीको टोलीमाथि स्थानीयले आगजनी गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार बारा जितपुर सिमरा बस्ने वर्ष २१ को अजित बस्नेत (नेभिगेटर) र धादिङ गल्छी गाउँपालिका –८ का चालक ३५ को दिलीप तामाङ कृष्णपुरको नगरप्लटिङ्ग चोकमा बागमती प्रदेश०१–०३०च ७१९० नम्बरको कार रोकी राखेर रोड सर्भे गर्न खोज्दा स्थानीय व्यक्तिहरू आक्रोशित भई कारमा आगो लगाएका थिए ।
आगो भरतपुर महानगरपालिकाको दमकल र प्रहरीको सहयोगमा दुई बजेर २० मिनेटमा निभाइएको थियो । आगजनीबाट कार पूर्ण रुपमा क्षति भएको र मानवीय क्षति नभएको प्रशासन कार्यालयले जनाएको छ । हाल उक्त स्थानमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।