प्याब्सन सुर्खेतद्वारा विरामी शिक्षिकालाई आर्थिक सहयोग

भेरीगंगा सम्वाददाता । निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल (व्याब्सन) सुर्खेतले आफ्ना सदस्य विद्यालयमा कार्यरत शिक्षिकालाई आर्थिक सहयोग गरेको छ ।
व्याब्सनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विगत चार महिनादेखि मुटु रोगबाट पीडित श्री जनज्योति ईङलिस मिडियम स्कूल भेरीगंगा नगरपालिका–११, सुर्खेतकी शिक्षिका पवित्रा बस्याललाई बुधबार उनी कार्यरत विद्यालयमै पुगेर उपचार खर्च वापत ७८ हजार १ सय रुपैयाँको आर्थिक सहयोग गरेको हो ।

व्याब्सनका केन्द्रीय उपाध्यक्ष नैनसिंह खत्री, कर्णाली प्रदेश उपाध्यक्ष नोख खत्री, सुर्खेत जिल्ला अध्यक्ष दलबहादुर गुरुङ, सचिव हरिलाल खड्का, जिल्ला सदस्य दिलमाया थापा, प्याब्सन भेरीगंगा नगरपालिकाका अध्यक्ष नरेश शाही, व्याब्सन वीरेन्द्रनगरका कोषाध्यक्ष भक्तसिंह ठकुरीसँगै स्थानीय समाजसेवी गणेश वलीको रोहवरमा आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
तीन वर्षदेखि उक्त विद्यालयमा कार्यरत शिक्षिका पवित्रा बस्याल विगत ४ चार महिनादेखि मुटु रोगबाट पीडित भई हाल शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौंमा उपचारत छिन् । व्याब्सन सुर्खेतले विरामी शिक्षिका बस्याललाई आर्थिक सहयोगसँगै उनको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।