कर्णालीमा चार मन्त्रीले शपथ ग्रहण लिएसँगै प्रदेश सरकारले पूर्णता पायो


सुर्खेत । कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्मन्त्री यामलाल कँडेलको सिफारिसमा सत्ता साझेदार दल नेपाली कांग्रेसका तर्फबाट चार जना मन्त्रीले शपथ ग्रहण गरेसँगै कर्णाली प्रदेश सरकारले पूर्णता पाएको हो ।
अब कर्णालीमा कांग्रेस–एमालेको गठबन्धनको सरकार चल्नेछ । आज प्रदेश प्रमुखको कार्यालयमा राखिएको कार्यक्रममा काँग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजिव विक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा विजया बुढाले मन्त्रीको रुपमा पद तथा गोपनियताको शपथ लिएका हुन् ।

नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख यज्ञराज जोशीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । ८ सदस्यीय मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित तीन मन्त्रालय एमाले र ४ कांग्रेसले पाएको छ । कांग्रेस सरकारमा सहभागी भएसँगै मुख्यमन्त्री कँडेलले सोमबार संसदबाट विश्वासको मत लिने कार्यक्रम तय भएको छ ।

कर्णालीमा नेपाली कांग्रेस ५ महिनाको अवधिमै सत्तामा पुनरागमन भएको छ । यसअघि गत फागुन २२ सम्म सत्तामै रहेको कांग्रेसले केन्द्रमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेको सत्ता समीकरण बनेपछि सरकारबाट बाहिरिएको थियो । आइतबार पुनः कांग्रेस सरकारमा सहभागी बनेको छ ।

शपथ लगत्तै मन्त्रालयमा पुगेर उनीहरुले पदभार ग्रहण पनि गरेका छन् । कांग्रेसले यस पटक पठाएका सबै मन्त्रीहरु ५० वर्षमुनिका छन् । सरकारमा सहभागी हुन लागेका शाह कांग्रेस केन्द्रीय सदस्य हुन् । संविधानसभा सदस्य रहिसकेका उनी पहिलो पटक मन्त्री बन्दैछन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बन्न लागेका अधिकारी स्थानीय तहको नेतृत्व गरिसकेका व्यक्ति हुन् ।
उनी सांसद हुनुअघि सल्यानको शारदा नगरपालिकाको नगर प्रमुख थिए । जलस्रोत तथा ऊर्जा विकास मन्त्री बनेकी बुढा हुम्लाको खार्पुनाथ गाउँपालिकाकी हुन् । लामो समय गाउँमा सामाजिक परिचालक रहेकी उनी पहिलो पटक मन्त्री बनेकी हुन् ।


