२०८३ कात्तिक १ , शनिबार
Sky News Nepal
October 17, 2026

अन्तर्राष्ट्रिय स्तरको कभर्डहल छिट्टै बनाउँछौं : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले करिब दुई घण्टा राष्ट्रिय महिला भलिबल टिमसँग व्यतित गरेका छन् । प्रधानमन्त्री ओली, खेल प्रशिक्षक एवं खेलाडीवीच यस खेलले हालसम्म हासिल गरेका उपलब्धि, थप पूर्वाधार विकास र आगामी अन्तर्राष्ट्रिय खेलमा नेपालको विजय कसरी सुनिश्चित गर्ने भन्ने विषयमा छलफल केन्द्रित गरेका थिए ।

प्रधानमन्त्री निवास, बालुवाटारमा ब्रेकफास्टसँगै मुलुकको कार्यकारी प्रमुखसँग सम्भवत: पहिलो पटक यस प्रकारको भलाकुसारी गर्ने अवसरले आफूहरूलाई उत्साहित तुल्याएको खेल नेतृत्वकर्ता, प्रशिक्षक र खेलाडीहरुले बताएका छन् । प्रधानमन्त्री ओलीसँगको छलफलमा सो टिमका मुख्य प्रशिक्षक जगदीश भट्ट, कप्तान करुणा शाही, नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्र चन्द, खेलाडी सरस्वती चौधरीलगायत सहभागी थिए ।

प्रधानमन्त्री ओलीले दुई साता अघि सम्पन्न ‘काभा वुमन्स नेसन्स भलिबल प्रतियोगिता’ हेर्न आफूले चाहे पनि मन्त्रिपरिषद्को आकस्मिक बैठकका कारण जान नसकेको अवगत गराउँदै खेलाडीका प्रगति, चाहना र मागबारे आफू जानकार रहेको सुनाए । उनले प्रतियोगिताका उपविजेता खेलाडीलाई नेपाल सरकारले जनही रु तीन लाख दिने निर्णय गरेको जानकारी गराए । यता खेलाडीले त्यसका लागि आभार व्यक्त गरेका थिए ।

उनले यस क्षेत्रको मागअनुसार अन्तर्राष्ट्रिय स्तरको कभर्ड हल बनाउने सङ्कल्प गरे । ‘तपाईँहरूलाई थाहा छ कि सरकारको ढुकुटीमा धेरै रकम छैन तर हामी गर्नै पर्ने कामहरू गर्नेछौँ । आगामी खेलमा जित्छौं जुन तपाईँहरुको मनोबल छ, त्यो साकार होस्,’ उनले भने, ‘हामीले खेल खेल्ने भनेकै जित्नका लागि हो, त्यस कारण राम्रो ध्यान दिएर जित्छु भन्ने आशा बोकेर लाग्नुस् । सफलता पक्कै मिल्नेछ ।’

प्रधानमन्त्री ओलीले गत महिना नेपालमा रहेका रसियाली महिला भलिबल खेलाडीले आफूसँगकोे भेटमा नेपाली टिमको प्रशंसा गरेको स्मरण गर्दै विश्वस्तका खेलाडीबाट भएको प्रशंसाभित्र नेपाली टिमको सम्भावना लुकेको जिकिर गरे ।

प्रकाशित मिति : २०८१ भदौ ३ गते सोमबार
Translate »