२०८३ कात्तिक १ , शनिबार
Sky News Nepal
October 17, 2026

बाढीले बस्तीहरू डुबानमा,जनजीवन कष्टकर बन्दै



 

धनगढी । लगातारको वर्षासँगै आएको बाढीले कैलालीमा बस्तीहरू डुबान गरेपछि जनजीवन कष्टकर बन्दै गएको छ ।

लगातारको बर्षाका कारण जिल्लाको मध्य तथा दक्षिणी क्षेत्रको अधिकांश  भू-भाग जलमग्न भएका छन् । लगातारको बर्षाका कारण कैलारी गाउँपालिका, भजनी नगरपालिका, घोडाघोडी नगरपालिका, जोशीपुुुर गाउँपालिका, गौरीगङ्गा नगरपालिका क्षेत्रका बस्तीमा बाढी पसेको छ ।

बाढीले घर डुबान गरेका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बाढीका कारण सबैभन्दा बढी कैलारी गाउँपालिका क्षेत्रमा समस्या देखिएको बताए । त्यस क्षेत्रमा बाढीले हुलाकी राजमार्गको केही ठाउँमा क्षति पुर्याएको र घरहरू डुबान गरेको उनले जनाए ।

कान्द्रा, कटैनी, काँडा, पथरैया, मोहना नदीमा बाढीको सतह बढ्दै गएकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन भनिएको र बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी सहित उद्धार टोली खटिएको जोशीको भनाई छ ।

बाढी प्रभावित क्षेत्र पवेराका प्रेम थारुले बाढीले बस्ती जलमग्न भएपछि समस्या भएको बताए । भजनी नगरपालिका ७ का भक्त साउदका अनुसार कुटी, पृथीपुरचर्रा, नयाबस्ती लगायतका बस्तीमा बाढी पसेको छ । कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले बाढीका कारण पूरै पालिका क्षेत्र जलमग्न भएको र प्रभावित घरपरिवारलाई सुरक्षित स्थानमा राखिएको जनाए । कैलालीमा दुई दिन देखि लगातार वर्षा भइरहेको छ ।

प्रकाशित मिति : २०८१ भदौ ६ गते बिहीबार
Translate »