२०८३ असोज ३० , शुक्रबार
Sky News Nepal
October 17, 2026

अब गैरसरकारी संस्थाले अधिकार माग्न सिकाउने होइन, नागरिकलाई उत्पादनमा जोड्नु पर्छ : मुख्यमन्त्री कँडेल



सुर्खेत  ।  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गैरसरकारी संघसंस्थाहरुले नागरिकलाई अधिकार माग्न सिकाउने भन्दा उत्पादन कार्यमा जोड्न आग्रह गरेका छन् ।

गैरसरकारी महासंघ नेपालले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको ‘संघसंस्थाका चुनौति र नागरिक स्वतन्त्रताका सवाल’ विषयक प्रदेश स्तरीय नीति सम्वाद कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले नागरिकलाई राजनीतिक अधिकार पुगिसकेकाले अब उत्पादन तथा उत्पादकत्व बृद्धि गरी देशलाई समृद्ध बनाउने तर्फ सबै जुट्न आवश्यक रहेको औल्याएका हुन् ।

उनले गैरसरकारी संघसंस्थालाई प्रदेश सरकारले सम्पादन गर्ने कार्यका त्रुटीहरुलाई औल्याएर रचनात्मक साझेदार बन्न सुझाव दिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थालाई विकास निर्माणका लागि चाहिने सुचकमा कर्णाली पहिलो नम्वरमै भएपनि अपेक्षित पूँजी अझै आउन नसकेको बताउँदै उनले कर्णालीमा लगानी बढाउन गैरसरकारी संघसंस्थासँग आग्रह गरे ।

‘देशभरी ६ हजार बढी गैरसरकारी संघसंस्थाहरु रहेपनि अधिकांसले कर्णालीको गरिबी, अभाव र विकटतालाई देखाएर भजाउने चलन अब सदाका लागि अन्त्य हुन्छ,’ उनले भने, ‘गैरसरकारी संघसंस्थासँग हातेमालो गर्न प्रदेश सरकारले ‘संघसंस्था ऐन’ निर्माण गरि प्रदेश सभामा टेवुल गर्ने तयारी गरेपनि संघकै कानून संसोधन नएकाले कार्यान्वयनमा जटिलता आउने होकी भन्ने आशंका उत्पन्न भएको छ ।’

कार्यक्रममा प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले समाज परिवर्तनका लागि गैरसरकारी संघसंस्थाहरुको भूमिका महत्वपूर्ण रहेकाले प्रदेशको समृद्धिका लागि सबै पक्ष हातेमालो गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए । उनले स्थानीय स्तरमा रोजगारी सृजनामा गैरसरकारी संघसंस्थाहरुले राम्रो काम गरेपनि अझै पर्याप्त नभएकाले प्रदेशमा थप लगानी बढाउन आग्रह गरे ।

कार्यक्रममा गैरसरकारी महासंघ नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदीले शुरुदेखि नै देश विकासका लागि सरकारको साझेदारका रुपमा गैरसरकारी संघसंस्थाहरुको महत्वपूर्ण भूमिका निभाउँदै आएको बताए । उनले संघसंस्था सम्बन्धि ऐन नियम र कानून धेरै पुराना भएकाले अब समय सापेक्ष सरकारहरुले बद्ल्न आवश्यक रहेको औल्याए ।

नागरिक समाजका अगुवा पिताम्वर ढकालले अन्य देशको तुलनामा नागरिक समाजलाई दिनु पर्ने मान, सम्मान र मर्यादा नेपालमा अझै मिल्न नसकेको गुनासो गरे । उनले नागरिक समाजमैत्री कानूनको अभावमा अहिले पनि संघसंस्था दर्ताका लागि काठमाडौं नै जानुपर्ने चलनको अन्त्य गर्नका लागि सरकारले पहलकदमी लिन आवश्यक रहेको जनाए । संघसंस्था दर्ता ऐन २०३३ लाई परिमार्जन गरि अब स्थानीय तहबाटै संघसंस्थालाई दर्ता गर्ने व्यवस्था मिलाउन जरुरी भईसकेको उनको भनाइ थियो ।
य

सैवीच गैरसरकारी संस्था महासंघ सुर्खेत जिल्लाको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभालाई महासंघका अध्यक्ष सुवेदी, महासचिव अर्जुन भट्टराई, पूर्व अध्यक्ष जीताराम लामाले कार्यक्रम सफलताको शुभकामना दिएका थिए । सभामा सेभ द चिल्डे«न, किडार्क नेपाल, लिवर्डलगायतका संस्थाहरुले कार्य पत्र पेश गरेको गैरसरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष प्रकाश सारुले जानकारी दिए ।

सभाले अन्तर्राष्ट्रिय र राष्ट्रिय संघसंस्था वीच समन्वय तथा सहकार्य गरेर आगामी दिन संयुक्तरुप सुर्खेतसहित कर्णालीको समृद्धिमा जुट्ने प्रण लिएको उनले बताए । सभाले नयाँ संस्थाहरुसँग समन्वय गर्ने, नविकरणमा सहजीकरण गर्ने र कर्णाालीमा बाहिरदेखि धेरै बजेट ल्याउने प्रयासलाई निरन्तरता दिन प्रतिबद्धता व्यक्त गरेको छ ।

 

प्रकाशित मिति : २०८१ भदौ २७ गते बिहीबार
Translate »