२०८३ असोज ३० , शुक्रबार
Sky News Nepal
October 17, 2026

बाँकेमा ठेउलाको प्रकोप बढेपछि सतर्क रहन चिकित्सकको सुझाव



नेपालगञ्ज । उखरमाउलो गर्मीसँगै बाँकेमा ठेउलाका बिरामी बढेका छन् । भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज तथा निजी क्लिनिकहरूमा ठेउलाको समस्या लिएर आउने बिरामीहरू बढेका छन् । ठेउला प्रकोपकै रुपमा देखिएको चिकित्सकहरू बताउँछन् ।

चिकित्सकहरुका अनुसार ठेउलाबाट बालबालिकाहरू बढी प्रभावित भएका छन् । ‘दैनिक ८/१० जना ठेउलाका बिरामी बालबालिका उपचारका लागि आइरहेका छन्’ नेपालगञ्ज मेडिकल कलेजका वरिष्ठ बालरोग विशेषज्ञ डा. पियुषकुमार कनोडियाले भने, ‘अहिले ठेउला निकै फैलिएको देखिएको छ, यो तीव्र गतिमा सर्ने भएकाले सावधानी अपनाउनुपर्दछ, ठेउला भएको बिरामीलाई आइसोलेट नै गर्नुपर्दछ ।’

‘चिकेनपक्स’ भनेर चिनिने ठेउला ‘भेरिसेला जोस्तर’ भाइरसको कारणले हुने डा.कनोडियाले बताए । उनका उनुसार यो भाइरस सहजै बिरामीका खोकी वा थुकको छिटा तथा बिरामीका छालामा देखिने फोकाका पानी छोएमा सर्ने गर्छ, संक्रमित भएको १० देखि २१ दिनसम्ममा लक्षणहरू देखा पर्ने गर्छन् ।

ज्वरो आउनु, आलस्य हुनु र शरीरमा चिलाउने बिबिरा देखिनु यसका मुख्य लक्षण हुन् । बिबिरा सामान्यतः अनुहारबाट सुरु भएर घाँटी, छाती, ढाड पछाडि हुँदै शरीरमा फैलिन्छ । बिबिराहरू पानी फोकामा परिणत भई पाप्रा भएर झर्ने गर्छ । पानी फोका एकदमै संक्रमित हुने गर्छ र छोएमा भाइरस सजिलै सर्न सक्छ । हप्ता/दश दिनमा यो क्रम सकिने गर्छ ।

ठेउलाले साना बालबालिकालाई दुख दिन्छ । त्यसबाहेक वयस्क, वृद्धवृद्धालाई समेत यसले छाड्दैन । चिकित्सकका अनुसार ठेउला बेरिसेला जोस्टर नामको भाइरसको संक्रमणले हुन्छ, जो गर्मी याममा बढी सक्रिय हुने गर्दछ । यसले ८ वर्षदेखि १५ वर्ष उमेर समूहमा बढी आक्रमण गर्छ ।

परिवारको एउटा सदस्यमा ठेउला देखिनसाथ अर्कामा त्यो सर्ने सम्भावना बढी हुन्छ । त्यसैले यसबाट बच्नका लागि विशेष सावधानी अपनाउनु पर्नेछ ।

कसरी थाहा पाउने र ?

टाउको तथा जीउ दुख्ने, ज्वरो आउने, खानामा अरुचि हुने, घाँटी सुख्खा हुने, खोकी लाग्ने र कमजोरी महसुस हुने लक्षण देखापर्‍यो भने ठेउलाको संकेत हो । यस्तो लक्षण देखिए लगत्तै अनुहार तथा छाला खस्रो हुन्छ । क्रमशस् त्यो पानी फोका जस्तै बन्छ ।

ठेउला आउनुअघि खुट्टा, जीउमा पीडा हुन्छ । हल्का ज्वरो आउँछ । खोकी लाग्छ, वान्ता पनि हुन्छ । यसरी रोगले संक्रमण गरेको २४ घन्टा नबित्दै पेट, ढाड, पिठ्यु, अनुहार जस्ता भागमा ससाना रातो दाना देखापर्छन् । यो क्रमशस् टाउको, जिब्रो, नाकको प्वाल, कानको भित्री भाग, आँखा हुँदै पूरै शरीरमा फैलन्छ ।

बच्चा, रोगी र गर्भवती जोगिनु पर्छ

ठेउलाको सम्भावित खतराबाट बालबालिका, गर्भवती, वृद्धवृद्धा बढी सतर्क रहनुपर्छ । किनभने यसको संक्रमण तिनै व्यक्तिहरूमा फैलन सक्छ, जसको रोगसँग लड्ने क्षमता कमजोर छ ।

ठेउलाको संक्रमण नवजात शिशुदेखि १२ वर्ष उमेर समूहका बालबालिकामा बढी देखिन्छ । एक पटक यसको संक्रमण फैलिसकेको व्यक्तिमा भने दोस्रो पटक ठेउला आउने सम्भावना कम हुन्छ । यद्यपि ५० वर्ष उमेर पार गरेका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरूमा भने यसको संक्रमण दोहोरिन पनि सक्छ । सथै, दोस्रो पटकको संक्रमण अलि जटिल हुन्छ । ठेउलाको पहिचान हुनसाथ एन्टिभाइरल औषधी सेवन गर्नुपर्छ । यसरी समयमै औषधी सेवन गरेको अवस्थामा यो रोग २ हप्ताभित्रै निको हुन सक्छ ।

कुन अवस्थामा गम्भीर र ?

यदि ठेउलाको रोगीलाई ब्याक्टेरियाको संक्रमण, मेनेन्जाइटिस, इन्सेफलाइटिस, निमोनिया, मिर्गौला तथा कलेजको समस्या देखिएमा चिकित्सककहाँ पुर्‍याउनुपर्छ ।

कसरी बच्ने र ?

यसबाट बच्न बालबालिकामा विभिन्न खोप अनिवार्य छ । यसको खोप दुई डोजमा दिने गरिन्छ । यद्यपि नेपालमा भने यो खोपलाई सरकारको कार्यक्रममा राखेको पाइँदैन ।

बिरामीको हेरचाह यसरी गरौं

ठेउलाका बिरामीलाई अलग्गै कोठामा राखेर हेरचाह गर्नुपर्छ । उनीहरूलाई दिनहुँ कपडा फेरिदिनुपर्छ । चिल्लो खानेकुरा दिनु हुँदैन । खाना हल्का र चिसो भए उत्तम हुन्छ । उनीहरू कमजोर हुने भएकाले पोषिलो र सन्तुलित खानेकुरा दिनुपर्छ । दुध, दही, ताजा फलफूल उनीहरूका लागि उपयोगी हुन्छ ।

आयुर्वेदिक उपचार

ठेउलाको संक्रमण शरीरुमा मोटाबोलिज्ममा हुने गडबढीले निम्त्याउँछ । यसको उपचार आयुर्वेदिक विधिबाट पनि खोज्न सकिन्छ । नीमको ताजा पत्ता बिरामीको शरीरमा दल्ने, बेसार पानी पिउन दिने । रोगीलाई तुलसीको पात पकाएर चियाको रुपमा पिउन दिनुपर्छ ।

के खाने र ?

–ताजा फलफूल, सागसब्जी सेवन गरौं ।
–किबी फल एकदमै लाभदायक हुन्छ । यसमा भिटामिन सि, मिनरल्स र अन्य पोषक तत्व पाइन्छ ।
–पानी पर्याप्त मात्रामा पिउनुपर्छ ।
–सलाद, समुद्री परिकार सेवन गर्नु उपयोगी हुन्छ ।

के नखाने र ?

–डेरीबाट बनेको खानेकुरा सेवन गर्नु हुँदैन । डेरीबाट बनेका परिकारले शरीरमा युरिक एसिडको मात्रा बढाएर शरीरमा प्रतिरोधात्मक क्षमता कमजोर तुल्याउँछ ।
–मासुको प्रयोग पनि कम गरौं ।

 

प्रकाशित मिति : २०८१ भदौ २९ गते शनिबार
Translate »