परिवर्तनको सम्वाहक एमालेविरुद्ध भयानक घेराबन्दी भइरहेको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र, विकास, समृद्धि, शान्ति र सुशासनको व्यवस्थित मार्ग समातेको मुलुकलाई बन्न नदिने प्रयास भइरहेकाले निर्णायक राष्ट्रिय शक्ति निर्माणको यात्रामा कटिबद्ध हुन आग्रह गरेका छन् ।

काठमाडौंमा आयोजित नेकपा (एमाले) को जनसंगठन सुदृढीकरण राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले परिवर्तनविरुद्ध रहेका शक्तिहरु एमालेको विरोधमा लागिरहेको बताएका हुन् । उनले परिवर्तनको संवाहक एमाले भएकाले कसरी कमजोर पार्ने भनेर प्रतिक्रियावादी र परिवर्तन विरोधी शक्तिहरु लागि परेको दाबी गरे ।


‘अहिलेको परिस्थिति जटिल छ । हामीविरुद्ध घेराबन्दी छ। परिवर्तनका विरोधी शक्तिहरु संविधानविरुद्ध खुलेआम लागेका छन् । सामन्ती, निरङ्कुश र अधिनायकवादी राजतन्त्रका पक्षमा यसरी मान्छेहरु बेसरम उफ्रिएको पहिले कहिल्यै देखिएको थिएन,’ प्रधानमन्त्री ओलीले भने, ‘जानी नजानी एक खालका मानिसहरुबाट नकारात्मक महौल खडा गर्ने कोसिस भइरहेको छ । सत्य र तथ्यको बाटो नभई झुठ, भ्रम, षड्यन्त्र र तिकडमको सहारा लिएका छन् । उनीहरुलाई काम र मेहनत गर्नु पर्दैन । भएको राम्रो कामको उल्टो काम प्रचार गरे पुग्छ ।’

ओलीले अहिले परिवर्तन विरोधीहरु खुलेआम संविधानको विरुद्धमा समेत लागेको उल्लेख गरे । ‘नेपाललाई लोकतान्त्रिक देश, शान्ति र सुशासनको व्यवस्थित मार्ग समाप्त नदिने प्रयास भइरहेका छन्,’ उनले भने, ‘नेपाललाई विकास र समृद्धिको दिशामा बढ्नै नदिने प्रयास भइरहेका छन् । नेपाली जनताको समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा सफल हुन नदिन कतिपय जानेर/नजानेर/योजनाबद्ध ढंगले लागि परेका छन्, एउटा माहोल खडा गर्ने कोसिस भइरहेको छ । उनीहरुसँग सत्य र तथ्यको बाटो हुँदैन । सत्यलाई रोकेर असत्यलाई फैलाउन लागि रहेका छन् ।’

एमालेविरुद्ध भयानक घेराबन्दी भइरहेको दाबी भन्दै ओलीले अहिले एमाले र एमाले नेतृत्वको सरकारलाई गलत देखाउन टाउको टेकेर हिँडिरहेको टिप्पणी गरे ।

Translate »