

धनगढी । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सबै दलको सहमतिमा संविधान संशोधन अघि बढाइने बताएका छन् ।
धनगढीमा शनिबार काँग्रेसको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा उपसभापति खड्काले काँग्रेस जिम्मेवार दल भएकाले संविधान कार्यान्वयनको जिम्मेवारी पनि काँग्रेसको काँधमा रहेको जनाए । उनले काँग्रेसकै नेतृत्वमा दलहरू मिलेर संविधान जारी भएको चर्चा गर्नुहुँदै संविधान संशोधनको विषयलाई काँग्रेसले अघि सारेको बताए ।
उपसभापति खड्काले पार्टीको महासमिति बैठकमा प्रस्तुत प्रस्ताव केन्द्रीय समितिबाट पारित भएको र त्यसलाई दस्ताबेज बनाएर देशभर पुर्याउने तयारी भइरहेको जानकारी दिए । उनले प्रशिक्षण कार्यक्रमले सकारात्मक सन्देश दिएको उल्लेख गर्दै यसले पार्टीलाई सुदृढ बनाउन सहयोग पुर्याउने बताए ।

प्रशिक्षण कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य रामजनम चौधरी, सुशिला भट्ट, प्रदेश सभापति वीर बहादुर बलायर लगायतले पार्टीलाई एकताबद्ध बनाएर लैजानु पर्नेमा जोड दिए ।
प्रशिक्षण कार्यक्रममा काँग्रेसका प्रदेश, जिल्ला, क्षेत्र तथा प्रदेश समितिका पदाधिकारी, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।











