सुर्खेतका सरोकारवालाद्वारा ‘वेतन कर्णाली’ को काम अघि बढाउन माग

सुर्खेत । कर्णालीको ऊर्जा समृद्धिसँग जोडिएको वेतन कर्णाली जलविद्युत आयोजनाको कामलाई अघि बढाउन सुर्खेतका सरोकारवालाले माग गरेका छन् ।

कर्मचारी सञ्चय कोषले आफ्नो ६३ औं वार्षिकोत्सवका अवसरमा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रमका सहभागि सरोकारवालाले सुर्खेत र अछाम बीचमा रहेको कर्णाली नदीमा निर्माण गर्न लागिएको ४ सय ३९ मेगावाट क्षमताको वेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणमा भईरहेको ढिलासुस्तीप्रति चिन्ता जाहिर गर्दै निर्माण कार्यलाई तत्काल तीव्रता दिन माग गरेका हुन् ।

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले वेतन कर्णालीको निर्माण कार्य कुनैपनि वाहनामा नरोक्न र समस्या भएमा सरोकारवालासँग छलफल गरि अघि बढ्न सुझाव दिए । उनले प्रदेशमा ऊर्जा समृद्धिसँग जोडिएका वेतन कर्णाली जस्ता अन्य थुप्रै स्थानहरुमा आयोजना निर्माण गर्न सकिने सम्भावना रहेकाले त्यसतर्फ समेत सोच्न कर्मचारी सञ्चय कोषलाई आग्रह गरे ।

कर्मचारी सञ्चय कोष जस्तो जिम्मेवार संस्थाले सुर्खेत र अछाम जिल्लाको कर्णाली नदीमा निर्माण गर्न लागेको ‘वेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजना’ निर्माणमा भईरहेको ढिलासुस्ती प्रति कर्णाली बासीले चिन्ता जाहिर गर्दै आईरहेको उनको भनाइ थियो ।


कार्यक्रममा कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका निमित्त सचिव गणेशबहादुर डाँगीले विना कारण वेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणको काममा भईरहेको ढिलासुस्तीप्रति आम सरोकारवालाले समेत खबरदारी गर्न आवश्यक रहेको औल्याए । उनले कर्णालीको समृद्धिसँग जोडिएका आयोजना निर्माणमा विभिन्न बहाना बनाएर आधा, अधुरा छोड्ने प्रवृत्तिको अन्त्य गर्न तर्फ सबै पक्ष जुट्नु पर्नेमा जोड दिए ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले सेवा अवधिभर मात्र नभई सेवानृवित्तपछि उत्पन्न हुने आर्थिक समस्या निराकरणका लागि समेत कर्मचारी सञ्चय कोषले प्याकेजमै कार्यक्रम ल्याउन सुझाव दिए । उनले जागिरे जीवनमा कोषमा सञ्चित पैसाको खासै महत्व नरहेपनि सेवा निवृत्तपछि आउने थुप्रै आर्थिक समस्याहरुको सारथी कर्मचारी सञ्चय कोष बन्ने सके ठूलो उपलब्धी हुने धारण व्यक्त गरे ।

कर्मचारी सञ्चय कोष सुर्खेत शाखा प्रमुख ध्रवप्रसाद तिवारीले सुर्खेतमा मात्रै आफ्ना सञ्चय कर्ता मार्फत विभिन्न शिर्षकबाट पछिल्लो दुई आर्थिक वर्षमा पौने ३ अर्ब रुपैयाँ लगानी गरेको बताए । उनले संस्थागत सुशासनमा ध्यान दिँदै कार्यप्रणालीलाई अझै प्रविधिमैत्री बनाएर सञ्चयकर्ता स्वास्थ्योपचार योजना, सुत्केरी तथा शिशु स्याहार योजना, दुर्घटना क्षतिपूर्ति योजना तथा काजकिरिया अनुदान योजनासमेतका सामाजिक सुरक्षा सुविधा उपलब्ध गराउँदै आएको जानकारी दिए ।

कार्यक्रममा कोष सुर्खेत शाखाका उपप्रबन्धक भरतकुमार साउदले वार्षिकोत्सवका अवसरमा कोषका कर्मचारीसँगै कोषमा आबद्ध रहेका व्यक्ति तथा संघसंस्थालाई धन्यवाद व्यक्त गरे ।

 

Translate »