राष्ट्रिय शिक्षा पुरस्कारबाट सुर्खेतका गोविन्द कोइरालासहित पाँच जना पुरस्कृत हुँदै

सुर्खेत । सरकारले राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर सुर्खेतका पाँच जनालाई पुरस्कृत गर्ने घोषणा गरेको छ ।

शिक्षा दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको उत्कृष्ट क्याम्पस, विद्यालय, विद्याभूषण, प्रविधि विद्याभूषण तथा छात्रापदक पाउनेको नाम घोषणा गरेको हो । भदौ ३१ गते बसेको मन्त्रीस्तरीय बैठकले पदक तथा विभूषणको छनोट गरेको थियो ।

पदक र पुरस्कार दिने घोषणा गरे पनि आर्थिक अभाव जनाउँदै पुरस्कार तथा पदक वितरणकाे भने टुंगो नलागेको मन्त्रालयले जानकारी दिएको छ ।

यस वर्ष सुर्खेतबाट नेपाल राष्ट्रिय चन्द्रगंगा माध्यमिक विद्यालय गाग्रेतालका प्रधानाध्यापक नेत्रप्रसाद चालिसे, निजी संस्थागत विद्यालयबाट एसओएस हर्मन माईनर सेकेण्डरी स्कूलका प्रिन्सीपल हरिहर बस्नेत, सामुदायिक विद्यालयका तर्फबाट जन नमुना माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दबहादुर कोइराला, निजी संस्थागत विद्यालयका संस्थापक मध्येबाट ईगरव्रिज वोडिङ स्कूलका संस्थापक हेमप्रकाश भुषाल र बालविकास शिक्षक मध्येबाट जनजागृत प्रावि पदमपुर वीरेन्द्रनगरकी शिक्षिका सीताकुमारी पौडेललाई पुस्तकृत गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

देशका सम्पूर्ण निजी तथा सार्वजनिक विद्यालयमा अध्ययनरत डेढ लाखभन्दा बढी शिक्षकहरूमध्येबाट निश्चित मापदण्डका आधारमा उत्कृष्ट र योग्य शिक्षकहरू छानिएको शिक्षा मन्त्रालयको दाबी छ ।

उक्त मापदण्ड अनुसार पुरस्कार पाउने शिक्षकको विषयमा वार्षिक परीक्षामा कम्तीमा ७५ प्रतिशत छात्रछात्रा उत्तीर्ण भएको तथा सम्बन्धित शिक्षक ९५ प्रतिशत विद्यालयमा उपस्थित भएको हुनुपर्छ । सरकारी स्कूलमा कम्तीमा पाँच देखि १० वर्ष सेवा गरेका स्थायी शिक्षक यो पुरस्कार को हकदार हुन्छन् ।

Translate »