२०८३ असोज २९ , बिहीबार
Sky News Nepal
October 16, 2026

संविधान दिवस : विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने सात जनालाई सम्मान



बाँके । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएका बाँकेका सात जनालाई आज नेपालगन्जमा सम्मान गरिएको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ मूल समारोह समिति बाँकेले आयोजना गरेको कार्यक्रममा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने सात जनालाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरूमा वरिष्ठ साहित्यकार तथा कथाकार सनत कुमार रेग्मी, उर्दूका शायर अब्दुल लतिफ शोक, समाजसेवी तथा करिब २० करोडको जग्गा दान गर्ने जयकेश सिंह, १७६ पटक रक्तदान गर्ने गोपीलाल वैश्य, ६५ पटक रक्तदान गर्ने महिला रक्तदाता सरिता ज्ञवाली, अन्जनी माता रसोईका सञ्चालक जितेन्द्र कुमार सिंह, र योगमार्फत मानव सेवा गर्ने योग गुरु गिरीराज भट्टराई रहेका छन् ।

जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका न्यायाधीश चन्द्र बहादुर सारु, नेपालगन्जका मेयर प्रशान्त बिष्ट, र संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समिति बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले उनीहरूलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।

सम्मानित कथाकार सनतकुमार रेग्मीले ऐतिहासिक र महान् दिनमा सम्मानित हुँदा गौरवको अनुभूति भएको बताए । सोही अवसरमा आयोजित भलिबल र वक्तृत्वकला प्रतियोगितामा विजयी भएकाहरूलाई पनि पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो ।

भलिबल प्रतियोगितामा बाँके जिल्ला भलिबल संघ पहिलो, नेपाली सेना दोस्रो, र नेपाल प्रहरीको टोली तेस्रो भएका थिए भने वक्तृत्वकला प्रतियोगितामा संविधानको महत्व र आवश्यकताबारे प्रथम, द्वितीय, र तृतीय स्थान प्राप्त गरेका तीन बालक र तीन बालिकालाई पनि पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस बाँकेका गोपाल अधिकारी, नेकपा एमालेका मिनबहादुर मल्ल, नेकपा माओवादी केन्द्रका नरेन्द्र पाण्डे, जनता समाजवादी पार्टीका बसन्त कनौजिया, र नागरिक समाजका कृष्ण प्रसाद श्रेष्ठले पनि संविधानको महत्वबारे आफ्ना विचार व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०८१ असोज ३ गते बिहीबार
Translate »