सुत्केरीको मृत्युपछि प्रदेश अस्पताल सुर्खेत परिसर तनावग्रस्त
सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा एक सुत्केरीको मृत्यु भएपछि स्थिति दिनभर तनावग्रस्त बनेको छ ।
सुत्केरीको मृत्युको विषयलाई लिएर आफन्तले विरोध जनाएपछि प्रदेश अस्पताल परिसर आज दिनभर तनावग्रस्त बनेको हो । सुत्केरी व्यथा लागेपछि सामान्य अवस्थामै अस्पतालमा भर्ना भएकी शर्मिलाको उपचारका क्रममा चिकित्सकको लापरवाहीले मृत्यु भएको आफन्तको आरोप छ । जिल्ला सदरमुकाम वीरेन्द्रनगर–६, कि १९ वर्षीया सुत्केरी शर्मिला कुमालको गएराति उपचारको क्रममा मृत्यु भएपछि आफन्त आन्दोलित भएका हुन् ।
अस्पतालले रक्तस्राव बढी भएपछि आईसीयूमा राखेर उपचार गरिकोमा सोमबार बिहान ३ बजे शर्मिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । मृत्युपछि शर्मिलाका आफन्तहरुले दोषी चिकित्सकलाई कारबाही गर्नु पर्ने माग राख्दै प्रदर्शन गरेका हुन् ।
अस्पताल प्रशासनले मृतकका आफन्तलाई जानकारी नदिएरै पहिला प्रहरीलाई अस्पतालमा बोलाएर शर्मिलाको मृत्युको खबर दिएपछि थुप्रैखाले आशंका उत्पन्न भएका छन् । प्रहरी आएपछि मात्र सोमवार बिहान ४ बजे प्रहरीले शर्मिलाको मृत्यु भइसकेको जानकारी दिएको आफन्तको भनाइ छ ।
यता जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) वीरेन्द्रवीर विश्वकर्माका अनुसार अहिले पीडित पक्षसँग अस्पताल प्रशासनले छलफल गरिरहेको छ । कुनै अप्रिय घटना हुन नदिन अस्पताल परिसरमा बाक्लो मात्रामा प्रहरी परिचालन गर्नुका साथै मृतकका आफन्तहरुसँग छलफल भएपछि आन्दोलन शान्त बनिरहेको उनको भनाइ छ ।