हेलिकप्टरमार्फत एक सय ६१ जनाको सकुशल उद्दार

काठमाडौं । गृह मन्त्रालयले आइतबार बिहानसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत बाढीपहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको एक सय ६१ जनाको सकुशल उद्दार गरेको जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले आज बिहानसम्म काभ्रेपलाञ्चोकका विभिन्न पालिकाबाट अहिलेसम्म ८३ जनाको उद्दार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिए ।


शनिबार नै त्यहाँ हेलिकप्टर पठाइए पनि उद्धार गर्न सकिएको थिएन । काभे्रपलाञ्चोकमा अहिले नेपाली सेनाका तीन वटा हेलिकप्टरले उद्दार जारी राखेको छ ।

मन्त्रालयका अनुसार शनिबार काठमाडौं उपत्यकामा १३, सिन्धुलीमा ३३ र मकवानपुरमा ३२ जनाको हेलिकप्टरमार्फत उद्दार गरिएको थियो । गृह मन्त्रालयका प्रवक्ता तिवारीले बाढीपहिरोका कारण अवरुद्ध राजमार्ग खुलाउन सबै संयन्त्र परिचालन गरिएको बताए ।

मन्त्रालयका अनुसार बाढीपहिरो र डुबानबाट हालसम्म एक सय सात जनाको मृत्यु, ६४ जना बेपत्ता र ७३ जना घाइते भएका छन् । गृहमन्त्री रमेश लेखकले सुरक्षा संयन्त्र र सरोकारवाला निकायलाई उद्दार, राहत, घाइतेको स्वास्थ्य उपचार र अवरुद्ध सडक यथाशीर्घ सञ्चालनमा ल्याउन तदारुकपताका साथ लाग्न निर्देशन दिएका छन् ।

Translate »