बाढीपहिरो र डुबानमा परी हालसम्म १ सय ३२ जनाको मृत्यु

६३ जना बेपत्ता र ७६ जना घाइते

काठमाडौँ । बिहीबारदेखि देशभर परिरहेको वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी हालसम्म १ सय ३२ जनाको मृत्यु, ६३ जना बेपत्ता र ७६ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका अनुसार हालसम्म करिब ३५ सय जनाको उद्दार गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले काभ्रेबाट १ सय २४ जना भन्दा बढीको हवाई उद्दार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिए ।

बाढीपहिरो र डुबानमा परेकाहरूको उद्दार र राहतको कामलाई सरकारले तीव्र बनाएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले हालसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत बाढीपहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेकाहरूको उद्दार गर्ने काम भइरहेको जानकारी गराए ।


गृह मन्त्रालयका प्रवक्ता तिवारीले बाढीपहिरोका कारण अवरुद्ध राजमार्ग खुलाउन सबै संयन्त्र परिचालन गरिएको बताए । सरकारले सुरक्षा संयन्त्र र सरोकारवाला निकायलाई उद्दार, राहत, घाइतेको स्वास्थ्य उपचार र अवरुद्ध सडक यथाशीघ्र सञ्चालनमा ल्याउन तदारुकताका साथ लाग्न निर्देशन दिइसकेको छ ।

सरकारले देशभर मनसुनजन्य घटनाबाट प्रभावित भएकाहरूको खोज तथा उद्दार र राहतमा सबै सुरक्षा निकायहरू समन्वयात्मक रुपमा परिचालिन हुन्, खोज तथा उद्दारमा नेपाली सेनाको हेलिकप्टर लगायत, केन्द्र, प्रदेश, जिल्ला र स्थानीयस्तरमा उपलब्ध सबै उपकरण र साधनको प्रयोग गर्न निर्देशन दिएको छ ।

यसैगरी, अवरुद्ध सडक अविलम्ब सञ्चालनमा ल्याउन, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन र प्रभावितहरूको पुनर्स्थापनाका लागि योजना बनाई कार्यान्वयन गर्न पनि सरकारले निर्देशन दिएको छ ।

Translate »