२०८३ असोज २९ , बिहीबार
Sky News Nepal
October 15, 2026

कोहलपुरमा टाउको बिनाको पुरुषको शव भेटियो



कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका( –८, पिपिरीमा टाउको नभएको एक पुरुषको शव भेटिएको छ । ती पुरुषको दसैंको दिन राति घाँटी काटेर हत्या गरिएको अनुमान गरिएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कोहलपुर नगरपालिका –८ पिपिरी चोकदेखि करिब दुई किलोमिटर पूर्व शितल नगरमा हत्या गरिएको अवस्थामा शनिबार राति शव फेला परेको थियो । टाउको नभएको अवस्थामा फेला परेको शव स्थानीय ४० वर्षीय चन्द्रबहादुर कामीको भएको पुष्टि भएको छ ।

शवको सनाखत चन्द्रबहादुरका परिवारले गरेका हुन् । घरदेखि करिब ५०० मिटर टाढा उनको शव फेला परेको थियो। राति करिब साढे १२ बजेको समयमा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले चन्द्रबहादुरको टाउको अझै नभेटिएको जनाउँदै प्रहरी परिचालन गरेर

टाउको र हत्यारा दुवैको खोजी भइरहेको जनाए ।

प्रहरीले टाउको बिनाको शवलाई  पोस्टपार्टमका लागि भेरी अस्पताल नेपालगन्ज पठाएको छ। प्रहरीका अनुसार घटनास्थलदेखि करिब दुई सय मिटर पूर्वमा रहेको सरस्वती चोकमा जडान गरिएको सीसिटिभि क्यामेरामा एक युवक कालो प्लास्टिकको झोला बोकेर गइरहेको देखिएको छ ।

प्रकाशित मिति : २०८१ असोज २७ गते आइतबार
Translate »