रास्वपा सभापति रवी लामीछाने पक्राउ, आजै सडकमार्ग हुँदै पोखरा लगिदै


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी रकम अपचलनको आरोपमा काठमाडौंबाट पक्राउ गरिएको छ ।
कास्की जिल्ला अदालतले सहकारी ठगी आरोपमा पक्राउको अनुमति दिएपछि लामिछानेलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले नियन्त्रणमा लिएको हो । उनलाई सहकारीको रकम ग्यालेक्सी टिभीमार्फत अपचलन गरेको आरोप लागेको छ ।

कास्की जिल्ला अदालतको आदेशअनुसार, जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेलाई समातेर बुझाउन सीआईबीलाई निर्देशन दिएको थियो । एसपी (प्रहरी उपरीक्षक) नेतृत्वको टोलीले उनलाई काठमाडौंमा पार्टी कार्यालयबाट नियन्त्रणमा लिएको हो । शुक्रबार नै उनलाई कास्की जिल्ला प्रहरी कार्यालयमा पेश गरिने तयारी गरिएको छ ।
यसअघि संसदीय विशेष छानबिन समितिले लामिछानेलाई सहकारी रकम अपचलनमा संलग्न ठहर गर्दै प्रतिवेदन तयार गरेको थियो । उक्त प्रतिवेदनको आधारमा मन्त्रिपरिषद्ले अनुसन्धान अघि बढाउन निर्देशन दिएपछि कास्की प्रहरीले उनीमाथि कारबाही अघि बढाएको हो । यद्यपि, लामिछानेको नेतृत्वको रास्वपाले उनलाई क्लीन चिट दिएको दाबी गरेको थियो ।
प्रहरीले यसअघि गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई पक्राउ गरेको थियो । जोशीलाई पनि यसै प्रकरणमा नियन्त्रणमा लिइएको थियो, तर सर्वोच्च अदालतले उनीमाथि गैरकानूनी हिरासतको आरोप नलगाउन भनेको थियो । तथापि, कास्की प्रहरीले उनीमाथि अभियोग चलाइरहेको छ ।

