कांग्रेस-एमालेले लोकतन्त्र मर्न दिँदैनन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र कांग्रेसले लोकतन्त्र मर्न नदिने बताएका छन् । शनिबार काठमाडौंमा कोप– २९ सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनका क्रममा प्रधानमन्त्रीले उक्त अभिव्यक्ति दिएका हुन् ।

प्रधानमन्त्री ओलीले अहिलेको सरकार एमाले, कांग्रेस मिलेर बनाएको उल्लेख गर्दै कांग्रेस र एमाले नेपालको राजनीतिक, सामाजिक इतिहास परिवर्तनका कुरामा अग्रणी रहेको पनि बताए ।

प्रधानमन्त्री ओलीले सामाजिक र राजनीतिक परिवर्तनमा एमाले र कांग्रेसले असाधारण योगदान गरेको दाबी गर्दै लोकतन्त्र देश र जनताका लागि सर्वोत्तम व्यवस्था भएको उल्लेख गरे ।

‘एमाले, कांग्रेस यी दुईवटा पार्टीहरू नेपालको राजनीतिक, सामाजिक, यस इतिहासमा परिवर्तनका कुराहरूमा, योगदानका कुराहरूमा र परिवर्तन साकार पार्नका लागि लड्ने कुराहरूमा सदैव अग्रणी रहेका हुन् । यिनले असाधारण योगदान पनि गरेका छन् । यिनको प्रतिबद्धता छ । यी पार्टीले डेमोक्रेसी मर्न दिँदैनन् । डेमोक्रेसी देश र जनताका लागि काम गर्ने सर्वोत्तम व्यवस्था हो,’ प्रधानमन्त्री ओलीले भने, ‘मानव जातिले सामाजिक सुप्रबन्धका लागि विकास गरेका दुईवटा कुरा हुन् । सामाजिक सुप्रबन्धका लागि पहिलो विकास मानवले पोलिटिक्स गरेको हो । त्यसले मात्रै पनि चलेन, अनि त्यहाँ विकास भए पोलिटिकल पार्टी । राष्ट्रियता एउटा हुन्छ भन्ने पार्ने राजनीतिक पार्टीले हो । राजनीतिक पार्टी नहुँदासम्म बन्दुकले बाँधेका जनता नेसन भइसकेका हुँदैनन् ।’

प्रधानमन्त्री ओलीले वन क्षेत्रलाई सरकारले ४० प्रतिशतभन्दा तल झर्न नदिने प्रतिबद्धता पनि जनाए ।उक्त कार्यक्रममा ओलीले आगामी महिना अजरबैजानको बाकुमा हुने जलवायुसम्बन्धी विश्व सम्मेलन ९कोप–२९० हिमालदेखि समुद्रसम्मका विषयलाई सशक्त रुपमा उठाइने बताए । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा आफूले राखेका जलवायु न्यायसम्बन्धी विषयलाई कोप–२९ सम्मेलनका क्रममा सशक्त रुपमा उठाउने पनि बताए ।

वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को तेस्रो बैठकले जलवायु परिवर्तनमा नेपालको अडान र दृष्टिकोणलाई कोप–२९ मा प्रस्तुत गर्ने निर्णय गरेको छ । कोप–२९ मा राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले मुलुकका हिमालहरूले विश्व तापमानलाई सन्तुलित बनाउन योगदान गरिरहेको सन्दर्भमा विश्वमा भएको कार्बन उत्सर्जनका कारणबाट हिमाल जोगाउनु र देशले कार्बन उत्सर्जन गर्ने मुलुकबाट उचित क्षतिपूर्ति पाउनु विश्वको हितमा हुने बताए ।

 

Translate »