डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित


काठमाडौं । डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । बुहमत सिट (२७०) भन्दा बढी सिट जित्दै ट्रम्प दोस्रो कार्यकालका लागि अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
निर्वाचनअघि प्रतिद्वन्द्वी डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिससँग कडा प्रतिस्पर्धा हुने भनिए पनि ट्रम्पले सहज जित हासिल गरेका छन् । पछिल्लो मतपरिणामअनुसार ट्रम्पले २७७ सिट सुनिश्चित गर्दा कमला २२४ सिट जितेकी छन् । आठ वर्षअघि हिलारी क्लिन्टनलाई पराजित गर्दै ट्रम्प अमेरिकाको राष्ट्रपति बन्न सफल भएका थिए । पछिल्लो निर्वाचनमा भने उनी जो बाइडेनसँग पराजित भएका थिए ।

ट्रम्पले अमेरिकाका लागि यो स्वर्ण युग हुने घोषणा गरेका छन् । उनले अमेरिकाको हितमा काम गर्ने बताएका छन् । ‘यो अमेरिकी जनताको शानदार जित हो । यसले अमेरिकालाई अझ सक्षम बनाउन मद्धत गर्नेछ । यो अमेरिकाको लागि स्वर्ण युग हुनेछ,’ सम्बोधनमा उनले भने ।
उनले अभूतपूर्व विजयी गराउने अमेरिकी नागरिकहरूलाई धन्यवाद ज्ञापन गरेका छन् । आफू यही दिनका लागि हत्या प्रयासबाट बचेको उनको भनाइ छ । चुनावी र्यालीमा सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको थियो । गोली उनको कानलाई छुँदै गएपछि उनी बाँच्न सफल भएका थिए ।
ट्रम्पले ह्वाइटहाउसबाट आफूले पूरा जोड दिएर संघर्ष गर्ने बताएका छन् । राष्ट्रपति बन्नु संसारकै सबैभन्दा महत्त्वपूर्ण काम हेको बताउँदै उनले आफूले गरेका वाचा पूरा गर्ने प्रतिवद्धता गरे । भाषणका क्रममा उनले एक्स (ट्वीटर) का मालिक एलन मस्कको प्रशंसासमेत गरेका थिए । उनले मस्कलाई रिपब्पलिकन पार्टीका ुनयाँ स्टारुको घोषणा गरेका थिए ।

