

सुर्खेत । सुर्खेत–दैलेख सिमास्थित वीरेन्द्रनगर नगरपालिका–१४, को रातानाङ्ला नजिक भएको फोर्स गाडी दुर्घटनामा परी मृत्यु भएका चार जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दैलेखको भैरबी गाउँपालिका–५ का गाडी चालक ३८ वर्षीय सुरेश केसी, वडा नं. २ का ३६ वर्षीय कर्णबहादुर विष्ट, वडा नं. १ की १६ वर्षीया दीपिका महतारा र २१ वर्षीया संगीता विष्टको मृत्यु भएको हो ।

आज दिउँसो साढे २ बजेको समयमा दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडी अनियन्त्रित भई दुर्घटना हुँदा चार जनाको मृत्यु हुनुका साथै ३० जना घाईते भएका छन् ।


चौंतीस जना सवार उक्त गाडी सडकभन्दा झण्डै दुई सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डीएसपी ) वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । उनका अनुसार ३ जनाको अवस्था गम्भिर रहेको छ ।
घाईते सबैको प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भईरहेको छ ।












