कर्णालीमा उपनिर्वाचन–२०८१ : मनोनयन दर्तासँगै राजनीति सरगर्मी बढ्यो


अनिता विक/वीरेन्द्रनगर । कर्णालीमा एकतर्फ चिसो बढिरहेका बेला राजनीति सरगर्मी पनि तेज भएको छ ।
दलहरु उपनिर्वाचनको परिणाम आ–आफ्नो पक्षमा पार्न शहरदेखि गाउँ टोल बस्ती–बस्तीमा केन्द्रित हुन थालेपछि राजनीति सरगर्मी बढेको हो । कर्णालीका आठ स्थानमा उप निर्वाचन हुँदैछ ।
आठ स्थानमा हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । दैलेखको महाबु गाउँपालिकामा अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिकामा र हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ ।
दैलेखको दुल्लु नगरपालिका वडा नं १३, कालिकोटको तिलागुफा नगरपालिका वडा नं ४, जाजरकोट कुशे गाउँपालिका वडा नं ७, डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका वडा नं ५ र रुकुम (पश्चिम) सानीभेरी गाउँपालिका वडा नं ५, मा वडा अध्यक्षको निर्वाचन हुँदैछ ।
यही मंसिर १६ गते हुन लागेको उपनिर्वाचनमा दलहरुले आइतबार उम्मेदवारी दर्ता गराएका छन् । दैलेखको महावुमा तामझामसहित ७ दलको मनोनयन दर्ता गराएका हुन् ।
नेपाली काँग्रेसबाट झलकबहादुर भण्डारी, नेकपा माओवादी केन्द्रबाट जंगबहादुर बराल मगर, नेकपा (एस) बाट जगतबहादुर हमाल, नेकपा एमालेबाट जंगबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाशकुमार बुढा, राप्रपाबाट सुर्जे रावत र नेमकिपाबाट दुर्गबहादुर मगरले गाउँपालिका अध्यक्ष पदका लागि मनोनयन दर्ता गरेका छन् । सबै दलहरुले बाजागाजासहित जुलुस निकालेर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न पुगेका थिए ।


जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरमा छ जनाको उम्मेदवारी परेको छ । उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट ईन्द्राचन्द सिंह, नेकपा एमालेबाट सुनिता बोहरा, नेकपा माओवादी केन्द्रबाट देवका लामिछाने, राप्रपा नेपालबाट सुनिता पुन रावल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पार्वती पुन, नेपाल समाजवादीबाट पवित्रा जैशीले मनोनयन गर्दा गराएका छन् ।
यस्तै, हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्षका लागि सात जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसले सविता बुढा, नेकपा एमालेले जाना शाही, नेकपा माओवादी केन्द्रले देवकी तिमिल्सेना, राप्रपाले संगीता शाही र राष्ट्रिय स्वतन्त्र पार्टीले बाचा बुढालाई उम्मेदवार बनाएको छ । यहाँ रामसरा खड्का साउँद र नरेश शाहीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
यसैवीच कालिकोटको तिलागुफा–४ को वडाध्यक्षमा ६ जनाको उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेसबाट ३४ वर्षीय पैलबहादुर शाही, एमालेबाट ४६ वर्षीय ऐनबहादुर शाही, नेपाल मजदुर किसान पार्टीबाट ३९ वर्षीय खड्कराज शाही र माओवादी केन्द्रबाट नैशोभा शाहीले मनोनययन दर्ता गराएका छन् ।
त्यस्तै, राष्टिय प्रजातन्त्र पार्टीबाट गोगनबहादुर शाहीले उम्मेदवारी दिएका छन् भने राष्टिय स्वतन्त्र पार्टीबाट गगन बमले उम्मेदवारी दिएका छन् । जिल्लामा दर्ता भएका सबै दलहरूले उम्मेदवारी दिइसकेको मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिए । यहाँका वडाध्यक्ष परबहादुर शाहीको दुई वर्षअघि राचुली पहिरोमा परी बेपत्ता भएपछि उपनिर्वाचन हुन लागेको हो ।
त्यस्तै रुकुम पश्चिम सानीभेरी गाउँपालिका–५ को वडाध्यक्ष पदको उपनिर्वाचनका लागि ४ जनाको उम्मेदवारी परेको छ । वडा अध्यक्षको पदमा नेकपा माओवादीको तर्फबाट जसिराम बस्नेत, स्वतन्त्र उम्मेदवार वीरबहादुर बस्नेत, नेपाली काँग्रेसको तर्फबाट मोतीराम खत्री र एकिकृत समाजवादीको तर्फबाट हंशराज पुरीले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद बस्यालले जानकारी दिए ।
नेपाली काँग्रेसका उम्मेदवारलाई समर्थन गर्ने भन्दै त्यस वडाको उम्मेदवारमा नेकपा एमालेले भने उम्मेदवारी दर्ता गरेको छैन ।


