रारा–गमगढी सडक सरकारको प्राथमिकतामा : मुख्यमन्त्री कँडेल


मुगु । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गमगढीदेखि रारासम्मको सडकलाई स्तरोन्नतिसहित पक्की गर्न प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताएका छन् ।
मुगुको सदरमुकाम मान्ममा आज आयोजित सर्वदलीय बैठकमा मुख्यमन्त्री कँडेलले पर्यटकीय दृष्टिले कर्णालीकै प्रशस्त सम्भावना बोकेको रारा जाने पहुँच मार्गलाई सहज बनाउन प्रदेश सरकारले विशेष प्राथमिकतामा राख्ने जनाए । मुख्यमन्त्री कँडेलले रारा पुगेपछि पर्यटकले जति आनन्द लिन सक्छन् त्यति नै पहुँच मार्गलाई सहज बनाउन प्रदेश सरकारको ध्यान जाने बताए ।
प्रदेश सरकारले रारामा पर्यटकलाई आकर्षित गर्न ताल वरिपरि ४५ करोडको लागतमा साइकल लेनको निर्माण गरिरहेको जानकारी दिनुहुँदै मुख्यमन्त्री कँडेलले त्यसलाई समयमै सम्पन्न गर्न स्थानीय राजनीतिक दलहरूले खबरदारी गर्न पनि सुझाव दिए । ‘प्रदेश सरकारले रकम बिनियोजन गरे पनि निर्माण व्यवसायीले समयमा काम सम्पन्न नगर्दा त्यसको जपजस सरकारले खेप्नुपरेको छ, तपाईँहरूले पनि समयमा सम्पन्न गर्नेतर्फ खबरदारी गर्नुहोला,’ उनले भने ।

मुगुको छायानाथ मन्दिर, चंखेली हिमाललाई पर्यटकीय दृष्टिले उत्कृष्ट बनाउन तथा जडीबुटीको सम्भावनालाई सदुपयोग गर्न सरकारलाई सुझाव दिन पनि मुख्यमन्त्री कडेलले दलहरूलाई आग्रह गरे । मुलुकको आर्थिक अवस्था त्यति सन्तोषजनक नरहेको चर्चा गदै मुख्यमन्त्री कँडेलले राज्य स्वयंसँग सीमित साधन रहेको र सीमित साधन श्रोतबाटै जनतालाई निराशा हुन नदिने गरि उत्कृष्ट काम गर्नुपरेको बताए ।
नीति निर्माण, योजना र बजेट निर्माणमा जनप्रतिनिधिहरूको भूमिका भए पनि जनप्रतिनिधिले पास गरेका बजेट कार्यान्वयन गर्ने कर्मचारी प्रशासनको धेरै महत्व हुने उल्लेख गर्नुहुँदै मुख्यमन्त्री कँडेलले हिमाली जिल्लाहरूमा कर्मचारी आउन नमान्ने भएकाले पनि निर्णय भएको बजेट पनि कार्यान्वयनमा समस्या देखिएको बताए ।
उनले कर्मचारीहरूलाई हिमाली जिल्लामा आउन सहज बनाउन र अभिप्रेरित गर्न स्थानीय राजनीतिक दलहरूलाई आग्रह गरे । मुख्यमन्त्री कँडेलले जिल्लाको विकासमा सबै राजनीतिक दलहरुबीच जति धेरै एकता हुन्छ त्यति नै प्राप्ति हुने हुँदा विकास र समृद्धिमा एक भएर अघि बढ्न दलका नेताहरूलाई आग्रह गरे ।

