विकासे योजना बाँटीखाने प्रवृत्ति सदा लागि अन्त्य गरिनेछ : मुख्यमन्त्री कँडेल


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कुनैपनि सरकारी विकासे योजना बाँटीखाने प्रवृत्ति सदाका लागि अन्त्य गरिने बताएका छन् । मु
ख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले विहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको सार्वजनिक सेवा प्रवाह एवम् विविध विषय छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले सत्ता साझेदार दल बद्लिएपनि विकासे योजना नबद्लिने बताएका हुन् । मुख्यमन्त्री कँडेलले पहिले कसले, कसरी विकासे योजना वितरण गरे भन्नु भन्दापनि अब कर्णाली सरकारका जोसुकै व्यक्ति परिवर्तन भएपनि विकासे योजना परिवर्तन नहुनेमा विश्वस्त रहन आग्रह गरे ।
झ्याल अथवा ढोकाबाट योजना ल्याएर बाँटीखाने प्रवृत्ति अब नदोहोरिने गरी नीति तथा कार्यक्रम बनिसकेकाले अनुदान शिर्षकमा रहेका बजेट वितरण प्रक्रिया माथि अहिलेदेखि नै पुर्नविचार गर्न कर्मचारीलाई उनले निर्देशन दिए । नागरिकले अपनत्व लिनेगरी चुस्तदुरुस्त सार्वजनिक सेवा प्रवाह गरेर शासन तथा प्रशासनका लाभहरुको प्रभावकारी वितरण गर्नु अहिलेको आवश्यक रहेको उनको भनाइ थियो ।

सुर्खेतका नौ वटै पालिकाका प्रमुख तथा उपप्रमुख सहित जिल्ला स्थित स्थानीय, प्रदेश तथा संघीय कार्याालयका प्रमुख सम्मलित अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री कँडेलले प्रदेशबाट पालिकामा जाने कार्यक्रम तथा योजना पालिकालाई पूर्व जानकारी दिएर मात्र लैजान आग्रह गरे । उनले दिन विताउने गरी होइन, परिणाम निस्किने गरी अहिलेदेखि नै पूँजीगत खर्च बढाउने गरी कार्यसम्पान गर्न कर्मचारीलाई निर्देशन दिए ।
‘अतिरिक्त शुल्क दिएर ठेक्कापट्टा मिलाई दिन्छु, काममा ढिलासुस्ती आलटाल गर्ने जोसुकै सार्वजनिक संस्था तथा कार्यालयले गरेको पाईएमा कानून अनुसार हदैसम्मको कार्वाही हुनेछ,’ उनले भने, ‘कुनै मान्छेको मुख हेरेर होइन, कर्मप्रतिको समर्पण, योग्यता तथा क्षमताका आधारमा कार्यसम्पादन गर्नेहरुको नागरिकले नै उच्च मूल्यांकन गर्ने छन् ।’


उनले व्यक्ति पुरानै भएपनि अब परिवर्तित नयाँ सोचका सामुहिक यात्राको गन्तव्यलाई पूर्णता दिनुपर्ने अपरिहार्य भईसकेको जिकिर गरे । नागरिकका अपेक्षाहरु पुरा गर्न निर्माण व्यवसायीलाई समेत सक्षम र बलियो बनाउनु पर्ने अवस्था रहेको बताउँदै उनले नियमपूर्वक काम गरेका ठेकेदार कम्पनीलाई प्रदेशबाट भुक्तानीमा कुनैपनि समस्या नरहेको बताए ।
उनका अनुसार जतिसुकै पुरानो ठेक्काभएपनि तोकिएको काम पुरा गर्ने निर्माण व्यवसायीलाई तुरुन्त भुक्तानी गरिनेछ ।

‘हामी निर्माण व्यवसायीलाई विश्वास दिलाउन चाहान्छौं की काम गरे वापतको भुक्तानी कसैको पनि रोकिने छैन्,’ उनले भने, ‘तर, नागरिकको आवश्यकता र मागलाई परिपूर्ति गर्न बनाईएका योजना तोकिएको समयमा काम नगरेर ठेक्का अलपत्र पार्ने प्रवृत्ति गलत हो, यसलाई सच्चाउनु पर्छ ।’
उनले जन अपेक्षा अनरुपका काम तोकिएको समयमा नहुँदा अहिले जनप्रतिनिधिदेखि सरकारलाई समेत दोष दिने प्रवृत्ति बढेको प्रति चिन्ता जाहिर गरे ।


