शान्ति सुरक्षासँगै अनुशासन कायम गराउन आवश्यक छ : गृहमन्त्री लेखक

सुर्खेत ।  गृहमन्त्री रमेश लेखकले देशमा शान्ति सुरक्षासँगै अनुशासन कायम गराउन आवश्यक रहेको बताएका छन् ।

सोमबार सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले सुरक्षा स्थितिलाई सुदृढ बनाउँदै अपराध नियन्त्रण तथा कानूनी शासन स्थापनाको सवाल सुनिश्चित गर्नुपर्ने सरकारको दायित्व भएको बताएका हुन् । पछिल्लो समय शान्ति सुरक्षालाई खलल पु¥याउने समूहहरुको सक्रियता बढिरहेकाले यसको निगरानी गर्न निर्देशन दिँदै गृहमन्त्री लेखकले विभिन्न माध्यमबाट व्यक्तिको चरित्र हत्या गर्ने, समाजमा वितृष्ण फैलाउने, धार्मिक तथा जातीय हिंसा फैलाउने कार्य हुन नदिन सुरक्षा निकायले सजग र चनाखो हुनुपर्नेमा जोड दिए ।

उनले बहुलबादसहितको बहुदलिय लोकतान्त्रिक संसदीय शासन प्रणालीमा अनुशासित, मर्यादित तरिकाले हरेक व्यक्तिलाई आफ्नो विचार अभिव्यक्त गर्न पाईएपनि अराजकता र सामाजिक सद्भाव विग्राने जस्ता कार्य गर्न कसैलाई छुट नभएको स्पष्ट पारे । जनतालाई अनुभूति हुने गरी मुस्कानसहित प्रभावकारी ढङ्गबाट सेवा प्रभाव गर्न निर्देशन दिँदै गृहमन्त्री लेखकले राजस्व चुहावट, लागुऔषध नियन्त्रण, आत्महत्या, विपद्, सवारी दुर्घटना जस्ता विषयमा गम्भीर भएर काम गर्न निर्देशन दिए ।

उनले सुरक्षा गोष्ठी औपचारिकतामा मात्र सीमित नभई कर्णाली प्रदेशको शान्तिसुरक्षा, अपराध नियन्त्रण, सडक दुर्घटनालगायतका विषयमा गम्भीर समीक्षा गरी आगामी योजना बनाउने बताए ।

कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय संरचना अनुरुपका कार्यहरुको कार्यन्वयनमा भईरहेको ढिलाइले जनअपेक्षा अनुरुपको परिणाम निकाल्न समस्या भईरहेको बताए । उनले मुख्यतहः कानून निर्माणमा भईरहेको ढिलाईका कारण तीनै तहका सरकार वीच आपसी समन्वय, सहकार्यलाई प्रभावकारी बनाउँन नसकिएको जनाए ।

उनका अनुसार संविधान लागू भएको दश वर्ष पुग्न लाग्दा पनि संविधानले निर्देशित गरेका संरचनाले पूर्णता नउपाँउदा संविधान विरोधीले टिप्पणी गर्ने बाटो खुलेको छ ।

गृहसचिव गोकर्णमणी दुवाडीको अध्यक्षतामा सुरु भएको सुरक्षा गोष्ठीमा नेपाल प्रहरीका प्रमुख बसन्त कुवँर, शसस्त्र प्रहरी प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापा, नेपाली सेनाका उपरथीद्वय प्रेमध्वज अधिकारी, अनुपजंग थापालगायत कर्णालीका सुरक्षा निकाय प्रमुख, दश वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख लगायतको सहभागिता रहेको छ ।

Translate »