सरुवा रोग अस्पताल भवनको शिलान्यास

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–१२, छिन्चुमा प्रादेशिक सरुवा रोग अस्पताल भवनको शिलान्यास गरिएको छ ।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आज एक भव्य कार्यक्रमका वीच ५० शैयाको सरुवा रोग अस्पताल भवनको शिलान्यास गर्नु भएको हो । भवन शिलान्यास गर्दै खड्काले पूर्वी सुर्खेती जनताको लामो समयदेखिको मागलाई जग्गा अधिग्रहण प्रक्रियाले तीन वर्ष ढिलाई भएपनि अब भने अस्पताल भवन निर्माण प्रक्रियाले निरन्तरता पाउने बताए ।

विकास, उन्नति र प्रगति कुनै एक ठाउँका लागि नहुने बताउँदै उनले प्रादेशिक सरुवा रोग अस्पतालले सिंगो कर्णालीका जनतालाई स्वास्थ्य सेवा पु¥याउने विश्वास व्यक्त गरे । कतिपय योजना निर्माणको ठेक्का लिएका निर्माण व्यवसायीका कारण समयमै काम नहुने अवस्था रहेको बताउँदै उनले विकास/निर्माणमा छुटाइएको बजेटलाई समयमै सदुपयोग गर्ने वातावरण बनाइनुपर्नेमा जोड दिए ।

‘सबै राजनीति दल, नागरिक समाजसँग छलफल गरेर संविधान कार्यान्वयनमा देखिएका जटिलता संशोधनका माध्यममार्फत सम्बोधन गर्न लागिएको छ,’ उनले भने, ‘विशिष्ट परिस्थितिमा बनेको वर्तमान गठबन्धन सरकार आगामी चुनावसम्म तलमाथि नहुनेमा विश्वस्त हुन आग्रह गर्दछु ।’

उनले साना राजनीति दलहरुलाई बोक्दा देशमा अस्थिरता पैदा भएकाले पनि प्रमुख दुई दल नेपाल काँग्रेस र नेकपा एमाले बीच सरकार सञ्चालनका लागि गठबन्धन बनेको जिकिर गरे । संघीय सहरी विकास कार्यालयका प्रमुख कमलकुमार दर्लामीले ५० बेडको प्रादेशिक अस्पतालका लागि बजेट अभाव नभएकाले समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे ।

उनका अनुसार ३१ करोड १५ लाख ४६ हजारमा अस्पताल भवन निर्माणको चक्रेश्वरी कुलेश्वर सिएलजेभीले ठेक्का पाएको छ । ४.९ हेक्टर जमिनमा फैलिने अस्पताल भवन २०८३ साउन १२ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने लक्ष्य रहेको छ ।

 

Translate »