हनी ट्रयापमा मुछिएकी प्रहरी निरीक्षक शाही ५ लाख धरौटीमा रिहा

काठमाडौं । ललितपुर जिल्ला अदालतले प्रहरी निरीक्षक बिनुकुमारी शाहीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

सोमबार न्यायाधीश रीताकुमारी बख्रेलको इजलासले उनलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको ललितपुर जिल्ला अदालतका प्रवक्ता रामसजीवन महतोले जानकारी दिए । फरार सूचीमा रहेकी उनी आइतबार आफैं निवेदन दिएर अदालतमा उपस्थित भएकी थिइन् । आइतबार थुनछेक बहस सकिए पनि सोमबार अदालतले शाहीलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

अब उनी नियमित तारिखमा रहेर थुनाबाहिरै मुद्दाको पुर्पक्ष गर्न पाउनेछिन् । शाहीको प्रहरी निरीक्षक पदको निलम्बन भने कायमै रहनेछ । यही मुद्दामा प्रतिवादी बनाइएका प्रहरी सहायक हबल्दार महेन्द्र हमाल साधारण तारेखमा रिहा भएपछि काममा फर्किएका छन् । अनुसन्धानका क्रममा उक्त घटनामा एसपी कमल थापाको समेत संलग्नता देखिएको भन्दै थप अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिइएको थियो ।

शाहीसँग हनी ट्रयापमा पीडित व्यवसायी र प्रतिवादी सुष्मा विकबीच गत साउनदेखि नै चिनजान रहेको देखिएको थियो । सुष्मा मोरङको एक होटलमा काम गर्थिन् । त्यसपछि उनीहरू नजिकिएका थिए । सुष्मा र पीडित व्यवसायीबीचको सम्बन्ध थाहा पाएपछि ताज मूल भन्ने तजम्मुल इस्लामको समूहले सुष्मालाई प्रयोग गरेर रकम असुलेको आरोप छ ।

 

Translate »