बहुमुखी क्याम्पस प्रशासनसँग आन्दोलनरत विद्यार्थीको ३ बुँदामा सहमति
वीरेन्द्रनगर । सुर्खेत बहुमुखी क्याम्पसमा विभिन्न माग राख्दै दुई दिनदेखि आन्दोलनरत विद्यार्थी र क्याम्पस प्रशासनवीच ३ बुँदामा सहमति भएको छ ।
क्याम्पस प्रशासनले पुस्कालय सेवा विहान ६ बजेदेखि साझ पाँच बजेसम्म सुचारू गर्ने, अपाङ्गमैत्री सहितको शौचालय निर्माण गर्ने र नियमित अध्ययन गरिरहेका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने सहमति भएको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका सुर्खेत जिल्ला इन्चार्ज आशिषकुमार रेग्मीले जानकारी दिए ।
उनले क्याम्पस प्रशासनसँग विद्यार्थीले लामो समयदेखि माग राख्दै आएका ११ बुँदा मध्ये ३ बुँदामा सहमति भएपनि बाँकी बुँदाका लागि विद्यार्थीका जायज मागहरुप्रति आफ्नो संगठनको निरन्तर एक्यबद्धता कायम रहने बताए ।
पटक–पटक बिभिन्न मागहरु क्याम्पस प्रशासनलाई बुझाएपनि कुनै सुनुवाई नहुँदा कार्यान्वयनका लागि क्याम्पस प्रमुखको कक्षमै धर्ना बस्नु परेको स्वतन्त्र विद्यार्थी युनियन (सुर्खेत बहुमुखी क्याम्पस) का अध्यक्ष अक्कल बहादुर सिजापतीले दुःखेसो पोखे ।
उनले विद्यार्थीका जाजय मागहरुप्रति बहुमुखी क्याम्पस कमिटीसँगै अनेरास्ववियु सुर्खेत, कर्णाली प्रदेश र केन्द्रीय कमिटीको समेत समर्थन रहेको जनाए ।
उनका अनुसार विद्यार्थीका सबै जायज मागलाई क्याम्पस प्रशासनले सम्बोधन नगरुन्जेल आन्दोलनका विभिन्न स्वरुपलाई निरन्तरता दिईनेछ ।