मुगुमा नयाँ निकुञ्ज वा शिकार आरक्ष बनाउन अध्ययन कार्यदल गठन

मुगु । वन तथा वातावरण मन्त्रालयले मुगु जिल्लामा नयाँ निकुञ्ज वा शिकार आरक्ष बनाउन अध्ययन गर्न कार्यदल गठन गरेको छ।

सोमबार वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले मन्त्रीस्तरीय निर्णय गर्दै मुगुम कार्मारोङ गाउँपालिकाको केही क्षेत्रलाई समेटेर निकुञ्ज वा शिकार आरक्षण बनाउने सम्भाव्यता अध्ययन गर्न कार्यदल बनाउने निर्णय गरेका छन् ।

यसअघि मुगुम कार्मारोङ गाउँपालिकाले गाउँसभाको निर्णयमार्फत से फोक्सुण्डो राष्ट्रिय निकुञ्जले ओगटेको क्षेत्र र अन्य भूभाग समेटेर सिकार आरक्षण, संरक्षित क्षेत्र वा राष्ट्रिय निकुञ्ज बनाउन माग गर्दै मन्त्रालयमा प्रस्ताव पेश गरेको थियो ।

वनमन्त्री शाहीका अनुसार कार्यदलले कुन विकल्प उपयुक्त हुन्छ भनेर सुझाव दिनेछ, जसका आधारमा मन्त्रालयले आगामी कदम चाल्नेछ।

से फोक्सुण्डो राष्ट्रिय निकुञ्जले मुगुको ८२९ वर्ग किमी क्षेत्र ओगटेको छ। यो क्षेत्र विभिन्न वन्यजन्तुको वासस्थानका रूपमा परिचित छ। हुलका हुल जनावर देखिने भएकाले पर्यटकहरूले यसलाई ‘खुला चिडियाखाना’ भनेरसमेत सम्बोधन गर्छन्।

मुगुमा सानो राष्ट्रिय निकुञ्ज रारा पनि पर्दछ, जहाँ नेपालकै ठूलो रारा ताल अवस्थित छ। यदि नयाँ संरक्षित क्षेत्र वा सिकार आरक्षण बन्यो भने मुगुमा दुईवटा संरक्षित क्षेत्र हुनेछन्।

नयाँ संरक्षित क्षेत्रमा तामा खानी, डोल्फु कर्णाली नदी, घोरल, झारल, कस्तुरी मृग, चौरी, हिम चितुवा लगायतका जनावर पाइने जनाइएको छ।

गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाका अनुसार, मुगुम क्षेत्रलाई संरक्षित क्षेत्र वा सिकार आरक्षण बनाउने माग वर्षौं पुरानो हो। संघीय सरकारमा मुगुबाट निर्वाचित मन्त्री शाही भएकाले यो माग पूरा हुने विश्वास गरिएको छ।

Translate »