‘भिड नियन्त्रण’ को पूर्व अभ्यास गर्दै सुरक्षा निकाय

सुर्खेत । आन्दोलनका क्रममा हुने धनजनको क्षति रोक्न सुरक्षा निकायहरु नयाँ रणनीतिक योजनाअनुसार सहकार्यमा जुटेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत र सशस्त्र प्रहरी बल नेपाल रक्तकाली गणले विगतमा भिड नियन्त्रणबाट लिएका अनुभव तथा पाठ सिक्दै नयाँ रणनीति अनुसार सुरक्षा योजनामा जुटेका हुन् ।

नयाँ योजना अनुसार शान्ति सुरक्षालाई चुस्तदुरुस्त बनाउँदै हुलदंगा व्यवस्थान गर्ने उद्देश्यले ‘भिड नियन्त्रण’ पूर्वअभ्यास गरिएको बताईएको छ ।

जिल्लामा जुनसुकै बेलापनि शान्ति सुरक्षामा खलल पुग्ने भएकाले आवश्यक पूर्व तयारी अनुरुप यी दुई सुरक्षा निकाय वीच सहकार्य तथा समन्वय गरेर भिड नियन्त्रण अभ्यास गरिको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेत वीच भएको वार्षिक कार्य सम्पादन सम्झौता अनुसार नै दंगा नियन्त्रणमा प्रभावकारिताको लागि सशस्त्र प्रहरी बल नेपालसँग संयुक्त अभ्यास गरिएको बताईएको छ ।

जिप्रका सुर्खेतबाट प्रहरी निरीक्षकको कमाण्डमा २१ जना र सशस्त्र प्रहरी बल नेपालको पनि प्रहरी निरीक्षकको कमाण्डमा २५ जना गरी कुल ४६ जनाले भिड नियन्त्रण अभ्यास गरेका हुन् । भिडग्रस्त क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई अश्रुग्यास र हतियारको निशानासम्मका तालिम दिइएको छ ।

यसअघि प्रहरीले भिड नियन्त्रणका लागि चलाएको गोली अन्यत्र लागेको, अश्रुग्यासको प्रयोग प्रभावहीन भएको र तालिम अभावमा केही स्थानमा अनावश्यक बल प्रयोग भएको जस्ता विषयलाई केन्द्रित गरेर आन्तरिक समीक्षापछि भिड नियन्त्रण तालिमको आयोजना गरिएको स्रोतको भनाइ छ ।

Translate »