सुर्खेतमा ‘भिड नियन्त्रण’ को पूर्व अभ्यास

 सुर्खेत ।  जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा भीड तथा दङ्गा नियन्त्रणसम्बन्धी नमुना अभ्यास प्रदर्शन गरेको छ ।

प्रहरीले विभिन्न आन्दोलनका क्रममा हुने धनजनको क्षति रोक्न नयाँ रणनीतिक सुरक्षा योजना बनाएर संयुक्त ‘भिड नियन्त्रण’ अभ्यास गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेत र सशस्त्र प्रहरी बल नेपाल रक्तकाली गणले विगतमा भिड नियन्त्रणबाट लिएका अनुभवबाट पाठ सिक्दै हुलदंगा व्यवस्थान गर्ने उद्देश्यले संयुक्त ‘भिड नियन्त्रण’ पूर्वअभ्यास गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेत वीच भएको वार्षिक कार्य सम्पादन सम्झौता अनुसार नै दंगा नियन्त्रणमा प्रभावकारिताको लागि सशस्त्र प्रहरी बल नेपालसँग संयुक्त अभ्यास गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) वीरेन्द्र विर विश्वकर्माले जानकारी दिए ।

उनले भीडलाई भगाउन वा तितरबितर गर्ने र सुरक्षाकर्मी पनि सुरक्षित हुने, आगजनी तथा तोडफोड रोक्नेजस्ता पूर्व अभ्यास गरिएको बताए । उनका अनुसार जिप्रका सुर्खेतबाट प्रहरी निरीक्षकको कमाण्डमा २१ जना र सशस्त्र प्रहरी बल नेपालको पनि प्रहरी निरीक्षकको कमाण्डमा २५ जना गरी कुल ४६ जनाले भिड नियन्त्रण अभ्यास गरेका हुन् ।

Translate »