कर्णालीका बीस वटा पालिकामा अझै आयुर्वेद सेवा पुग्न सकेन

सुर्खेत । कर्णालीमा पछिल्लो समय आयुर्वेद स्वास्थ्य सेवा लिनेको संख्या दिनप्रतिदिन निकै बढ्दो छ ।

प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रका अनुसार कर्णालीमा वार्षिक ४ लाख नागरिकले सरकारी निकायबाट आयुर्वेद चिकित्सा सेवा लिँदै आइरहेका छन् । सेवा लिनेको संख्या दैनिक बढ्दै गएपनि सरकारले भने सेवा बढाउन सकेको छैन । अझैपनि कर्णाली प्रदेशका २० वटा स्थानीय पालिकामा आयुर्वेद सेवा पुग्न नसकेको प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रका निर्देशक डा. शंकरप्रसाद रिजालले जनाए ।

उनले प्रदेशका ७९ पालिका मध्ये ५९ वटा पालिकामा मात्र आयुर्वेद सेवाको पहुँच पुगेको बताए । उनका अनुसार ती मध्ये प्रदेशका १८ वटा पालिकामा आयुर्वेदको आफ्नै संरचना छन भने ४१ वटा पालिकामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा छन् ।  ‘देश संघीय संरचनामा गएपछि कर्णालीमा आयुर्वेद तथा प्राकृतिक चिकित्साले तुलनात्मकरुपले धेरै फड्को मारेको छ,’ उनले भने, ‘तर जुन रफ्तारले कर्णालीमा आयुर्वेद चिकित्साले गति समात्नु पथ्र्यो त्यो हुन सकेको छैन् । त्यसका लागि पर्याप्त बजेटसँगै विज्ञ जनशक्ति व्यवस्थापन मुख्य चुनौती हो ।’

उनले पछिल्लो समय सरकारै पिच्छे बद्लिने नीति तथा कार्यक्रमले मानव स्वास्थ्यका लागि आधुनिक औषधि भन्दा आयुर्वेद फाइदाजनक मानिएपनि ओझेलमा परेको जनाए । उनका अनुसार सरकारले उपलब्ध गराउँदै आइरहेको आयुर्वेद औषधिले ६ महिना मात्रै धान्दै आइरहेको छ । उनले संघीय संरचनाकै तर्जुमा अनुसार कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय अन्तर्गत रहेको आयुर्वेद तथा विविध चिकित्सा शाखा नै खारेज हुँदा थप जटिलता बढेको बताए ।

उनले भने, ‘संघ, प्रदेश र स्थानीय पालिका वीचको समन्वयकारी भूमिका खेल्दै आईरहेको आयुर्वेद तथा विविध चिकित्सा शाखा नै खारेज हुँदा जिल्ला तथा पालिकाले पठाउने आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धी तथ्यांक, सूचना, प्रतिवेदनलगायत कार्यहरु नहुँदा समस्या भईरहेको छ ।’ उनले अझैसम्म पनि प्रदेशका सबै ठाउँमा आयुर्वेद सेवा पु¥याउन नसक्दा संविधानमै लेखिएको हरेक नागरिकले चिकित्सा पद्दतीको विकल्प रोज्न पाउने अधिकार समेत कार्यान्वयन गर्न नसकिएको बताए ।

नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज कर्णाली प्रदेशले शुक्रबार वीरेन्द्रनगरमा आयोजना गरेको ‘कर्णाली आयुर्वेद स्मारिका विमोचन कार्यक्रम’ मा शुभकामना मन्तव्य दिँदै निर्देशक डा. रिजालले कर्णाली जडिबुटी र आयुर्वेदका लागि उर्बर र सम्भावनाले भरिपूर्ण क्षेत्र मानिएपनि पर्याप्त लगानीसँगै योजनाबद्ध तरिकाले अघि बढ्न आवश्यक रहेको औल्याए ।

कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकार निरन्तर प्रयासरत रहेको बताए । उनले आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतीको विकासकाका लागि सरकारले वर्षेनी भौतिक पूर्वाधार निर्माण तथा जनशक्ति व्यवस्थापनमा जोड दिईरहेको जनाए ।

उनले भने, ‘नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार सम्वेदनशील छ । त्यसका लागि उपलब्ध साधनस्रोतको अधिकतम् परिचालन गर्दै नागरिकका अपेक्षा तथा आवश्यकताहरु पुरा गरिने छन् ।’ उनले आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रमा कर्णाली आधारित निरन्तर अनुसन्धान तथा अन्वेषण गर्न आवश्यक रहेको समेत औल्याए ।

नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज कर्णालीका अध्यक्ष छविलाल खड्काले ‘कर्णाली आयुर्वेद स्मारिका’ पुस्तक आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रका विभिन्न अनुभव तथा समय सापेक्ष लेख तथा रचनाहरुको संग्रह रहेको बताए । उनले अब आउँदा दिनहरुका अंकमा कर्णालीको आयुर्वेद क्षेत्रको खोज एवम् अनुसन्धानका विषय वस्तुहरु समेटिने जनाए ।

पुस्तकमा कर्णालीको आयुर्वेद क्षेत्रका सम्भावना, हाल गरिएका प्रयास, चुनौती र आगामी रणनीतिका बारेमा सरकारलाई सुझारात्मक लेखहरु रहेको उनको भनाइ थियो । पुस्तक विमोचन कार्यक्रममा कर्णाली प्रदेशभरीका आयुर्वेदसँग जुडेका सरकारी, नीजि तथा व्यवसायिक व्यक्त्विहरुको सहभागिता रहेको थियो ।

Translate »