२०८३ असोज २९ , बिहीबार
Sky News Nepal
October 15, 2026

आहाराको समस्या झेल्दै पाटेबाघ



बाँके । बर्दिया राष्ट्रिय निकुञ्जसँगै जोडिएको बाँके राष्ट्रिय निकुञ्जमा बढ्दो क्रममा रहेका लोपोन्मुख पाटेबाघलाई बासस्थानसँगै आहारा प्रजातिको समस्या खड्किने गरेको छ । चुरेभावरयुक्त भौगोलिक स्थिति रहेको निकुञ्जमा पानीपोखरीसमेत पर्याप्त नहुँदा बाघको आहारा प्रजातिको घनत्वसमेत सीमित छ ।

निकुञ्ज चुरेको काखमा रहेकाले पनि निकुञ्ज भित्र पर्याप्त घाँसेमैदानलगायत पानीको उचित व्यवस्थापन नहुँदा आवश्यक मात्रमा बाघको आहारा प्रजाति वृद्धि हुन नसकेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले बताए। आहारा प्रजातिको घनत्व कम भएकाले पनि बाघलाई समस्या पर्ने गर्छ ।

उनले भने, प्राकृतिक जलाशयहरू थोरै छन् । निर्माण गरिएका पानीपोखरी अपर्याप्त छन् । निकुञ्जमा पर्याप्त बजेट नहुँदा पनि आशातीत उपलब्धि भेट्न मुस्किल छ ।

बाँके राष्ट्रिय निकुञ्जभित्र बाघ र यसको बासस्थान, आहारा प्रजातिलगायत निकुञ्जभित्रको समग्र अवस्थाको तथ्यगत विवरण थाहा पाउन तीन साता अघिदेखि निकुञ्जमा बाघको अनुगमन भइरहेको छ । प्रमुख संरक्षण अधिकृत कँडेलले भने, ५ सय ५० वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जको कोर एरियामा ४ ओटा ब्लकमा १ सय ६९ वटा ग्रिड बनाएर क्यामेरा ट्रापिङ प्रविधिमार्फत बाघलगायत यसको आहारा प्रजातिको अनुगमन गर्दैछौं ।

जसमध्ये ब्लकका ३१ वटा ग्रिडमा आहारा प्रजातिको घनत्व हेरिँदैछ । अनुगमनका लागि ६ वटा हात्ती, केही गाडी, निकुञ्ज कर्मचारी, नेपाली सेना गरी १६ जना कर्मचारी परिचालन गरिएको छ ।

प्रकाशित मिति : २०८१ पुस २५ गते बिहीबार
Translate »