रविविरुद्धको मुद्दामा थुनछेक आदेश आउँदै
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलगायत सातजनाविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस सकिएको छ ।
कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले सरकारी वकिलको जवाफी बहस सकिएको र थुनछेक आदेशको तयारीमा रहेको जानकारी दिए । उनका अनुसार जिल्ला सरकारी वकिल कार्यालयकी न्यायाधिवक्ता कमला काफ्ले र उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता गोविन्द गौलीले जवाफी बहस गरेका हुन् ।
न्यायाधीश नीतिज राईको इजलासमा यही पुस ६ गतेदेखि सहकारी ठगी मुद्दाका रविसहित सातजना प्रतिवादीहरूको थुनछेक बहस सुरू भएको हो । सहकारी ठगीका आरोपित लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल, मीना गुरूङ, कृष्णबहादुर गुरुङ र आरती गुरूङविरुद्ध थुनछेक बहस जारी छ ।
थुनछेक बहसपछि लामिछानेलगायत सहकारी ठगीका आरोपितलाई पुर्पक्षका लागि थुनामै राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश आउनेछ । लामिछानेको मुद्दामा फैसला सार्वजनिक गर्ने तयारीसँगै कास्की जिल्ला अदालतमा सुरक्षा व्यवस्था कडा पारिएको छ । भीडभाड गर्न पनि रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले सम्भावित जोखिमलाई टार्न अदालत क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको हो ।
लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा समेत मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालय,कास्कीले लामिछानेसहित ४४ जनालाई सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो । सहकारीको बचत रकम उपचलन गरेको आरोपमा रास्वपा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।