रवि लामिछाने फेरि हिरासतमा

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई हिरासतमा पठाइएको छ । बयान सकिए पनि थुनछेक बहस नभएपछि काठमाडौं जिल्ला अदालतले लामिछानेलाई हिरासतमा पठाउन आदेश दिएको हो ।
जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उनको बयान सकिएको छ । बयान सकिएपछि इजलासबाटै उनलाई प्रहरीको जिम्मा लगाइएको हो। थुनछेक बहसका लागि प्रहरीले उनलाई भोलि अदालतमा पुन: उपस्थित गराउनेछ ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा भएका लामिछाने आज बिहान अदालतमा आफै उपस्थित भएका थिए । उनको दिनभर बयान चलेको थियो ।

कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको रास्वपा सभापति लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
थुनछेक बहस सकिएपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने भन्ने आदेश आउनेछन् । उनीविरुद्ध चितवन,रुपन्देही र पर्सामा पनि सहकारी ठगीमा मुद्दा दायर भइसकेको छ। त्यहाँ यसअघि उनीसँग अनुसन्धान अधिकृतले बयान लिइसकेका छन् ।
सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरूद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ । धरौटीमा छु्टेपछि बिहीबार पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर लामिछानेलाई परिवारको जिम्मा लगाएको थियो ।