नेपाल-भारत सीमा सुरक्षाका लागि छैठौं समन्वयात्मक बैठक सम्पन्न

बाँके । नेपाल र भारतका सशस्त्र सुरक्षा बल बीच छैठौं डिआइजी स्तरीय समन्वयात्मक बैठक बाँकेको बिन्ध्यावासिनी बाहिनी मुख्यालयमा सम्पन्न भएको छ । सीमा सुरक्षा बलहरूले संयुक्त रूपमा सीमा क्षेत्रका चुनौती र समाधानका उपायबारे सहमति गरेका छन् ।

नेपालतर्फ सशस्त्र प्रहरी बल ५ नं. बिन्ध्यावासिनी बाहिनीका बाहिनीपति डिआइजी प्रदीप कुमार पालको नेतृत्वमा बैठक सम्पन्न भयो । भारततर्फ भारतीय सशस्त्र सीमा बल (एसएसबी) का लखीमपुर खिरी सेक्टर हेडक्वार्टरका डिआइजी बी. विक्रमन र गोरखपुर सेक्टर हेडक्वार्टरका डिआइजी मुन्ना सिंहको नेतृत्व रहेको थियो ।

बैठकमा सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण गर्न विशेष प्राथमिकता दिइयो। मुख्य सहमति यी विषयमा केन्द्रित थियो:

  • सीमा स्तम्भहरूको समयमै मर्मत र सम्भार ।
  • दशगजा क्षेत्रमा रहेका अवैध संरचनाहरू हटाउने ।
  • मानव तस्करी, लागूऔषध ओसारपसार, नक्कली मुद्रा, हतियार र वन्यजन्तु तस्करी नियन्त्रण ।
  • तेस्रो देशका नागरिकहरूको अवैध प्रवेश रोक्ने ।
  • दशगजा क्षेत्रको सफाइ र सौन्दर्यकरण ।

दुवै पक्षले संयुक्त अभियानलाई निरन्तरता दिने सहमति जनाए। यसमा सीमा क्षेत्रमा संयुक्त गस्ती, हेल्प तथा हेल्थ डेस्क सञ्चालन, खेलकुद कार्यक्रम र संयुक्त अभ्यासलाई प्राथमिकता दिइनेछ ।

यसअघि पाँचौँ समन्वयात्मक बैठक भारतको रुपैडिहामा सम्पन्न भएको थियो । सशस्त्र प्रहरी बल नेपाल ३० नं. गण बागेश्वरीका प्रहरी उपरीक्षक बिमल डाँगीले यसबारे जानकारी दिएका हुन् ।

बैठकले दुई देशबीचको सीमा सुरक्षा सुदृढ गर्न थप सहकार्यलाई मजबुत बनाउने विश्वास व्यक्त गरेको छ ।

Translate »